६ मंसीर, पर्वत । जिल्लामा क्रियाशिल पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसंग स्थानीय तहमा भ्रष्ट्रचार मौलाएको भन्दै गुनासो पोखेका छन । प्रमुख जिल्ला अधिकारी ढकालले बुधवार प्रशासन कार्यालयमा आयोजना गरेको पत्रकार र प्रजिअ वीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकारहरुले भ्रष्टचार मौलाउँदै गएको प्रति गुनासो गरेका हुन ।
जनप्रतिनिधिहरुका नियमन गर्ने निकाय नै नहुँदा उनीहरुमा मनपरी तत्न्त्र हावी भएको पत्रकारहरुको भनाई छ । पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, पूर्वअध्यक्षहरु दुर्गाप्रसाद शर्मा, ओमप्रसाद घायल, सचिव गणेश गिरी, पत्रकारहरु लक्ष्मण सापकोटा, सन्तोष थापा, रोशन तिवारी, महेन्द्र जिसी लगाएतले पर्वत जिल्लाका कार्यालयहरुको शुसासन र सञ्चालनका विषयमा प्रमुख जिल्ला अधिकारीलाई सुझाब दिएका थिए । पत्रकारहरुले स्थानीय तहका प्रमुखहरुले नितान्त नीजि कार्यमा समेत सरकारी सवारी साधनको प्रयोग गरीरहेको, सवारी साधनलाई नीजि नम्बर प्लेटबाट दुरुपयोग गरीरहेको तर्फ सिडिओ ध्यानाकर्षण गराएका थिए । उनीहरुले गाउँ तथा नगर सभाबाट पारित भएका बजेटहरुको पारदर्शीतापूर्वक सार्वजनिक नगर्ने स्थानीय तहहरु संघियता नै असफल बनाउने गरी भ्रष्टचारको दलदलमा फस्दै गएको आरोप लगाएका थिए ।
संघियता कार्यान्वयनको चरणमा स्थापना भएको प्रदेश कार्यालयहरुको बारेमा समेत सार्वजनिक रुपमा जानकारी नपाउँदा उनीहरुका गतिविधिहरुको रिपोटिङ गर्न समस्या सृजना भईरहेको पत्रकारहरुको भनाई छ । कार्यक्रममा बोल्ने अधिकांश पत्रकारहरुले आर्थिक अपारदर्शीता मौलाउँदै गएका स्थानीय तहहरुले आफ्ना सुचनाहरु सहज रुपमा उपलब्ध नगराउने गरेको समेत आरोप लगाए ।
कालोबजारी गर्ने ब्यापारीहरुलाई हालसम्म कुनै कारबाही नभएको भन्दै पत्रकारहरुले प्रशासन कार्यालयको काम कारबाहीको समेत प्रश्न उठाएका थिए । उक्त अवसरमा प्रजिअ ढकालले पत्रकारहरुका सुझाबहरुर्लाइ ग्रहण गर्दै संघिय सरकारको प्रतिनिधिका हैसियतले गर्न मिल्ने सवै प्रकारका शुसासन प्रत्याभूति गराउने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।




