१४ असोज, पर्वत । जिल्लाका ७ वटा स्थानीयहरु मध्ये ६ वटा स्थानीय तहका कार्यालय भाडाका घरमा छन । महाशिला गाउँपालिका भने सरकारी भवनमा छ । जिल्लाका २ नगरपालिका र ५ वटा गाउँपालिका मध्ये महाशिला मात्रै सरकारी भवनबाट सञ्चालनमा छ ।
दुई नगरपालिका मध्ये कुश्मा नगरपालिका र फलेवास नगरपालिका पनि भाडाका घरमा बस्दै आएका छन । उनीहरु मध्ये कुश्मा नगरपालिकाको मासिक भाडा लाखौ रकम छ । उता, फलेवास पनि स्थानीय एक पुस्तकालयको भवनमा सञ्चालनमा छ । उता, जलजला गाउँपालिका लामाखेतमा एक स्थानीयको घर भाडामा लिएर सञ्चालन भईरहेको छ । मोदी गाउँपालिका भने पातिचौर बजारमा स्थानीय ब्यक्तिकै घरमा सञ्चालनमा छ ।
यसैगरी विहादी गाउँपालिकाले पनि स्थानीय ब्यक्तिको भाडाको घरबाट कार्यालय सञ्चालन गरेको छ । बहाँकीटाठीमा गाउँपालिकाको कार्यालय छ । पैयू गाउँपालिकाले हुवासको हातेमालो चोकमा घर भाडामा लिएर सञ्चालन गरेको छ ।
मासिक भाडा महंगो खर्च गरेर सञ्चालन भईरहेका स्थानीयतहहरुलाई महाशिलाले उदाहरणीय बनेर देखाएको छ । महाशिला गाउँपालिकाले साविक बालाकोट गाविसको कार्यालयबाट सञ्चालनमा ल्याएर खर्च रकम कटौती गरेको हो । बालाकोट गाविसको भवनलाई मर्मत गरेर एक तला थप गरिएको छ । जसमा गाउँकार्यपालिकाको कार्यालय छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा, प्रशासन र अन्य कर्मचारीहरु उक्त कार्यालयमा बस्दै आएका छन । साँधुरो भएपनि तत्कालका लागि काम चलाउन सकिने गरी भवन पुर्ननिर्माण गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलको भनाई छ ।
भवन मर्मत गरी एक सभाहल समेतको निर्माण गरिएको छ ।
गाउँपालिकाको गाउँकार्यपालिकाको वैठक भवनमै वस्दै आएको छ । स्थानीय श्रोत र साधनको समुचित प्रयोग मार्फत गाउँको सम्बृद्धि खोज्ने कुरामा आफूहरु लागि परेको गाउँपालिका अध्यक्ष पौडेल बताउँछन । जिल्लाकै उदाहरणीय गाउँपालिका बन्ने होडमा महाशिला लागीपरेको छ । सबल र सक्षम नेतृत्व हुँदा स्थानीय तहहरुले विकासको गति लिनसक्नछन भन्ने उदाहरणीय स्थानीय सरकारको नमुना देखाउन थालेको महाशिलाको सिको सवै स्थानीय तहहरुले गर्न जरुरी छ ।





