१४ असोज, पर्वत । स्थानीय तहको गठनसंगै सवै विषयगत कार्यालयहरु नगरपालिका मातहत आएका छन । ति कार्यालयहरु सहित कर्मचारीको संख्या नगरपालिकामा बृद्धि भएको छ । जिल्लाको सदरमुकाम कुश्मा बजारमा रहेको कुश्मा नगरपालिका भने विगत लामो समय देखि भाडाको घरमा बस्दै आइरहेको छ । भाडाको घरमा बस्दा पनि भवनको अभाव भएपछि नगर कार्यपालिका सदस्यहरुले बुधवार सदरमुकाम कुश्मा बजारमा रहेका सरकारी कार्यालयहरुमा कब्जा जमाएका छन । कार्यालय ब्यवस्थापनका लागि पटक पटक समन्वय समितिलाई अनुरोध गर्दा समन्वय समितिले वेवास्ता गरेपछि कुश्मा नगरपालिकाले सरकारी कार्यालयको भवनमा कब्जा जमाएका हुन ।
यस अघि नगरप्रमुख रामचन्द्र जोशी सहित नगर कार्यपालिका सदस्यहरुले तत्कालीन जिल्ला विकास समिति बसेको भवन नगरपालिकालाई उपलब्ध गराउन अनुरोध गर्दै आइरहेको थियो । समन्वय समिति प्रमुख मनोहर वि. पौडेललाई नगरकार्यपालिका सदस्यहरुले पटक पटक अनुरोध गर्दा पनि आफू बसेको भवन पनि नदिने र अरु कार्यालय ब्यवस्थापनमा पनि सहयोग नगरेको कार्यपालिका सदस्यहरुले गुनासो गर्दै आइरहेका थिए ।
बुधवार नगरपालिका सदस्यहरु सहित कर्मचारीहरुको समेत समूहले कुश्माको बडागाउँमा रहेका साविकको जिल्ला पशु सेवा कार्यालय र सीप विकास कार्यालयको भवनमा आफ्नो साइन वोर्ड राख्दै भवन कब्जा गरेका छन । देश संघियतामा गएर जिल्ला स्तरीय कार्यालयहरु खारेज भईसकेको अवस्थामा पनि कार्यालयहरुको भवनमा कर्मचारीहरुले साविककै हिसावले कब्जा जमाईरहने तर आफूहरुका कर्मचारीले बस्ने कोठा नपाउँदा समस्या भईरहेकोले भवन कब्जा गरिएको कार्यपालिका सदस्य तथा वडा न ११ का वडा अध्यक्ष शिव पौडेलले बताउँछन ।
पौडेलले अधिकृत स्तरका कर्मचारीहरुको कार्यालय सामाग्री अझै पनि झोलामा लिएर सडकमा काम गर्नुपर्नेै बाध्यता रहेकाले सरकारी कार्यालयहरुमा नगरपालिका राख्ने गरी आफूहरुले भवन कब्जा गरेको बताएका छन । उनले संघिय सरकारका प्रतिनिधिको रुपमा रहेका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर बोर्ड राखिएका कार्यालय खाली गरी नगरपालिकाको कार्यालय १ हप्ता भित्र ब्यवस्थापन गर्ने समेत जानकारी दिए ।
कार्यक्रम पनि नभएका र संविधानले खारेज भएका कार्यलयहरुमा कर्मचारी हुने तर स्थानीय सरकारको रुपमा परिभाषित गरेको नगरपालिका भने साँधुरो भाडाको घरमा वस्दा सेवा प्रवाह पनि प्रभावित भएको पौडेलको भनाई छ । यस अघि पनि कर्मचारीले कार्यकक्ष नहुँदा सेवा प्रवाहमा समस्या परेको सेवाग्राहीहरुले दुःख पाउने गरेको दुःखेसो गर्दै आइरहेका थिए । नगरपालिका सदस्यहरुले जिल्ला समन्वय समिति बसेको भवनमा नगरपालिका सर्ने गरी तयारी गरेपनि समन्वय समितिले उक्त भवन दिन नमानेपछि भवनको समस्या सृजना भएको थियो ।
नगरकार्यपालिका सदस्यहरुले स्वास्थ्य कार्यालय वा शिक्षा कार्यालयको भवन ब्यवस्थापन गर्न माग गरेपनि ति कार्यालयहरु मध्ये स्वास्थ्य कार्यालय साविककै अवस्थामा सञ्चालन गर्ने संघिय सरकारले निर्णय गरीसकेको छ । उता, शिक्षा कार्यालयमा भुकम्प पुर्ननिर्माण सम्बन्धि कार्यालय र शिक्षा तथा समन्वय इकाईको कार्यालय स्थापना गरिएको छ । जिल्ला कृषि कार्यालयमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ भने कार्यालय हटेको महिला तथा बालबालिका कार्यालयमा समन्वय समितिका उपप्रमुखको आवास र पुर्ननिर्माण प्राधिकरणको कार्यालय राखिएको छ ।
सिंचाई डिभिजन कार्यालयलाई सिंचाई तथा जलप्रकोप डिभिजन कार्यालयको रुपमा स्थापना गरिएको छ । भुसंरक्षण कार्यालयलाई भू संरक्षण तथा जलाधार नियन्त्रण कार्यालयको रुपमा राखिएको छ । यी सवै कार्यालयहरु प्रदेश सरकारले स्थापना गरेका हो । उता, जिल्ला हुलाक कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय र कोष तथा लेखानियन्त्रण कार्यालय साविककै अवस्थामा सञ्चालनमा छन । घरेलु तथा साना उद्योग विकास समिति पनि प्रदेश मातहतबाट साविककै अवस्थामा सोहि भवनबाट सञ्चालनमा छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई पूर्वाधार विकास कार्यालयको रुपमा प्रदेश सरकारले कार्यालय स्थापना गरेको छ । जिल्ला स्थित कुनै पनि कार्यालय खाली नहुने संकेत पाएपछि नगरपालिकाको नगरकार्यपालिकाबाट सरकारी भवनमा सर्ने भनि गरिएको निर्णय अनुसार नै कुश्मा नगरकार्यपालिका सदस्यहरुले भवनमा कब्जा जमाएका हुन । भवनमा बोर्ड राख्न नगरपालिकाका वडाअध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, वडा सदस्यहरु र नगरपालिका कर्मचारीहरु सहभागी भएका थिए ।




