Print

‘विहादी र पैयू क्षेत्रको सडक कालोपत्रे पहिलो प्राथमिकता’– सांसद गिरी

१० असोज, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र पुगेका प्रतिनिधि समा सदस्य सांसद पदम गिरीले त्यो क्षेत्रको विकासमा आफू लागि परेको बताएका छन । पैयू गाउँपालिकाको त्रिवेणी बहुउेद्दश्यीय सहकारीको एघारौ साधारण सभाको उद्घाटन शत्रलाई सम्बोधन गर्दै सांसद गिरीले विहादी गाउँपालिका र पैयू गाउँपालिका क्षेत्रको विकासमा आफू गम्भिर रहेको बताएका हुन ।

कार्यक्रममा बोल्दै सांसद गिरीले जिल्लाले राष्ट्रिय सभाको नेतृत्व गर्ने अवसर पाएकाले पनि जिल्लाको विकास गर्न अव समस्या नरहेको तर्क गरे । उनले दक्षिण क्षेत्रको विकासमा आफूले अगुवाई गर्ने बताउँदै विकास योजनाहरु निर्माणमा लागीरहेको भन्दै समय आएपछि ति सवै कामहरु देखिने दावी गरे । दक्षिणी क्षेत्रको सडकका कारण विगत लामो समय देखि त्यो क्षेत्रका बासिन्दाले दुःख पाइरहेको बताउँदै सांसद गिरीले सडक कालोपत्रे नै आफूहरुको पहिलो प्राथमिकता रहेको उल्लेख गरेका हुन ।

सडक कालोपत्रे हुँदा यात्रा सहज हुने मात्र नभई आर्थिक गतिविधिहरु गाउँमा बढ्नसक्ने भएकाले पनि उक्त कार्यका लागि केन्द्रिय सरकारमा पहल गर्ने उनले बताए । कुश्मा देखि लुंखु हुँदै हुवास जोड्ने सडक र वालिङ देखि हुवास हुँदै विहादी जोड्ने सडक कालोपत्रेको चरणमा रहेको समेत उनले उल्लेख गरे । कालीगण्डकी करिडोर अन्तर्गतको विहादी देखि फलेवास हुँदै कुश्मा जोड्ने सडक पनि राष्ट्रिय प्राथमिकतामा राखेर आफूले कालोपत्रेका लागि समन्वय गरीरहेको उनले कार्यक्रममा उल्लेख गरे ।

कार्यक्रममा पैयू गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले सडक कालोपत्रे नहुँदा जनताले दुःख पाइरहेको भन्दै संघिय सरकारले सडक कालोपत्रे गर्न ध्यान दिनुपर्ने तर्क गरे । उनले धुलाम्मे सडक हिड्नु पर्ने बाध्यता हटाउने कार्यमा सहयोग गर्न संघिय सरकारका प्रतिनिधि सांसदको ध्यानाकर्षण गराउँदै स्थानीय तहको पहिलो माग नै सडक रहेको कुरा उल्लेख गरे ।

बचतकर्ता र शेयर सदस्य गरी कुल ८ सय जनाले सेवा लिइरहेको उक्त सहकारीले गत आर्थिक बर्षमा ३० प्रतिशत नाफा बोनस वितरण गरेको छ । स्वरोजगार कार्यक्रमबाट ८८ लाख ऋण लिएको सहकारीले ३७ लाख मात्र चुक्ता गर्न बाकी रहेको जनाएको छ । आफ्नै भवनमा सञ्चालन हुँदै आएको सहकारीले ब्यवसायीक कृषकहरुलाई लक्षित गरी ऋण प्रवाह गर्दै आइरहेको सहकारी अध्यक्ष भिमसेन गुरुङले जानकारी दिए ।