Print

मातृभूमिका लागि प्रवासीहरुको प्रयास प्रशंसा योग्य छ–अध्यक्ष तिमिल्सीना

१० असोज, पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले गैरआवासीय नेपालीहरूले मातृभूमिको विकासका लागि गरिरहेका प्रयासहरू प्रशंसायोग्य रहेको बताएका छन । अध्यक्ष तिमिल्सिनाले विदेशबाट नेपालीहरूले गर्ने सहयोग पार्टीगत र व्यक्तित रूपमा गर्नुभन्दा पनि स्थानीय सरकारसँगको सहकार्यमा गर्न सकेमा स्पष्ट र पारदर्शी हुने सुझाव दिए ।

‘विदेशमा रहेका नेपालीहरूले कति दुःख गरेर कमाएको थोरै थोरै पैसा जम्मा गरेर सहयोग पठाउनुहुन्छ, तर त्यो व्यक्तिगत र पार्टीगत रुपमा वितरण हुँदा बिचौलिया मात्र मोटाएका छन’ उनले भने । अध्यक्ष तिमिल्सिनाले विदेशमा रहेका नेपालीहरुले उद्धार र विपदमा परेकाहरुलाई सहयोग गर्नै आईरहेको धन्यवाद दिँदै आगामी दिनमा भने बिपदमा सहयोग संगसंगै देशको उत्पादन मुलक क्षेत्रमा पुाँजी लगानी गर्न पनि अनुरोध गरे ।

‘बिदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेमा अब नेपालीहरु तपाईँहरु जस्तो विदेश जान पर्ने थिएन।’ अध्यक्ष तिमिल्सिनाले भने, ‘अब तपाईँहरुको सीपलाई नेपालको कृषि, पर्यटन उत्पादन लगायतको क्षेत्रमा प्रयोग गर्नुपर्छ।’ एन।आर।एन।, सेवा समाज लगायतका संस्थाहरुले नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने दृढ मनसाय लिएर आएमा त्यसका लागि सरकारलाई आफूले आफ्नो ठाउँबाट आवश्यक वातावरण निर्माणको लागि थप आग्रह गर्ने पनि उनको भनाइ छ। अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभाका सदस्य पदम गिरीले विदेशमा दुःख गर्ने नेपालीहरुको पिडा निकै दर्दनाक भएको बताए । उनले रोजगारीका लागि विदेश जाने परिस्थिती नै नआउने गरी सरकारले अव नीति बनाउन लागेको बताए । उनले विदेशमा गएर गर्ने दुःख नेपालमा नै गर्ने हो भने त्यो नै मातृभूमिका लागि साँचो अर्थमा माया गरेको ठहरीने समेत बताए ।

कार्यक्रममा पर्वतका सात ओटै स्थानीय तहका वडाध्यक्षदेखि पालिकाहरुका प्रमुख र उपप्रमुखहरुको सहभागिता थियो। पर्वत जिल्लको कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रको विकासको लागि के के गर्न सकिन्छ? भन्ने बिषयमा भएको अन्तरक्रियामा प्रतिनिधि सभाका सांसद पदम गिरी, गैह्रआवासिय नेपाली संघका उपाध्यक्ष कुल आचार्य, प्रदेश सभा सदस्य जुनादेवी नेपाली, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल , पूर्व सांसद अर्जुनप्रसाद जोशी, पर्वत सेवा समाज अन्तराष्ट्रियका अध्यक्ष पुरन गिरी, संरक्षक शिब सुबेदी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

समाजका अध्यक्ष परशुराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका संस्थापक अध्यक्ष मणि भुर्तेलले कार्यपत्र प्रस्तुत गरेका थिए भने सञ्चालन सचिब कलम लामिछानेले गरेका थिए ।