Print

अलपत्र लमायखोला मोटरेवल पुलको सांसद गिरीद्धारा अनुगमन, मंसीरबाटै काम शुरु गराउने प्रतिबद्धता

४ असोज, पर्वत । झण्डै एक बर्ष अगाडि निर्माण कार्य शुरु भए पनि ठेकेदार कम्पनीले निर्माण कार्य बन्द गरेपछि अलपत्र परेको जिल्लाको फलेवास नगरपालिकाको देविस्थान–कुर्घा जोड्ने लमायखोला मोटरेवल पुलको सांसद पदम गिरीले अवलोकन गरेका छन । स्थानीय बासीले निर्माणधिन मोटरेवल पुल अलपत्र परेको भन्दै गुनासो गरेपछि स्थानीयबासी र स्थानीय जनप्रतिनिधिसंगै सांसद गिरीले पुल निर्माण स्थलको अवलोकन गरेका हुन । पुल निर्माण स्थल लमायखोलामा पुगेका सांसद गिरीसंग स्थानीयले पुल अलपत्र परेको भन्दै आक्रोस ब्यक्त गरेका थिए ।

संघिय सरकारले निर्माण गरीरहेको कालीगण्डकी करिडोर अन्तर्गतको पर्वत खण्डमा पर्ने सडकमा उक्त मोटरेवल पुलको निर्माण कार्य अगाडि बढेको हो । पुल निर्माण कार्यको प्रारम्भिक चरण मै निर्माण कम्पनीले काम छाडेपछि विगत १ बर्ष देखि पुल अलपत्र अवस्थामा छ । पुल अलपत्र परेको भन्दै स्थानीयबासीले प्रतिनिधि सभाका सांसद गिरीलाई पुल निर्माण कार्य अगाडि बढाउन माग गरेका हुन ।

पुल निर्माण स्थलमा पुगेका सांसद गिरीले सम्बन्धित निकायलाई तत्काल यस विषयमा ध्यानाकर्षण गराउने भन्दै आगामी मंसीर महिनाबाट निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे । सांसद गिरीले विकास आयोजनाका कुनै पनि कामहरुमा हेलचक्राई नगरी काम गर्न निर्माण कम्पनीहरुलाई सरकारले पटक पटक निर्देशन दिएको जानकारी दिदै पुल निर्माणका लागि आवश्यक पर्ने सवै प्रकारको समन्वय गरेर निर्माण कार्य अगाडि बढाउने उक्त अवसरमा प्रतिबद्धता ब्यक्त गरे ।

स्थानीयबासी र स्थानीय जनप्रतिनिधिहरुको चाहना बमोजीम नै डिजाइन स्टमेट गरि सम्झौता भएको ठाउँमा पुल निर्माण गर्ने कार्यमा आफ्नो सहयोग मिल्ने सांसद गिरीको भर्नाइ छ । आयोजनाको निर्माण कम्पनी, करिडोरको कार्यालय र मन्त्रालयमा आफूले सम्पर्क गरीरहेको भन्दै सांसद गिरीले पुल निर्माण हुने कुरामा ढुक्क रहन स्थानीयबासीलाई आश्वस्त पारे ।

जिल्लाको दक्षिणी क्षेत्रसंग प्रत्यक्ष जोड्नका लागि छोटो दुरीको सडक खण्डमा उक्त पुल पर्दछ । पुल र सडक निर्माण हुँदा दक्षिण पर्वतको विहादी, पैयू र महाशिलाको यात्रा थप सहज हुने स्थानीयको विश्वास छ । पुल निर्माण स्थलमा पुगेका फलेवास नगरपालिका वडा न ६ का वडा अध्यक्ष भोलानाथ भुषालले पुल निर्माण अवरुद्ध हुँदा पुल नै नबन्ने हो की भन्ने चित्ता लागेको बताए । उनले केन्द्रिय सरकारको तर्फबाट सांसद गिरीले पहल गरेमा पुल निर्माण हुने आशा ब्यक्त गर्दै तत्काल निर्माण कार्य अगाडि बढाउनुपर्ने बताए ।

स्थानीय अगुवा उपेन्द्र थापाले कुनै पनि बहानामा ठेक्का सम्झौता भएर निर्माण कार्य अगाडि बढेको पुलको निर्माण कार्य रोकिन नहुने भन्दै विना कारण विकास निर्माणका कामहरु रोकिनु दुःखत रहेको बताए । झण्डै ५ करोड १३ लाखको अनुमानित लागतमा पुल निर्माण हुने मोटरेवल पुल २५ मिटर लामो र ११ मिटर चौडाईको रहेको छ ।

नयाँ बाटो गौचन जेभि कास्कीले मोटरेवल पुलको काम गर्ने जिम्मा लिए पनि हालसम्म फाउन्डेसनको काम पनि शुरु गरेको छैन । २०७६ साल असार सम्ममा सम्पन्न गरिसक्नु पर्ने गरी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेपनि पुलको निर्माण कार्य शुरु नहुँदा तोकिएको समयमा पुरा नहुने देखिएको हो ।

अलपत्र लमायखोला मोटरेवल पुलको विषयमा स्थानीयबासीको गुनासालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सांसद पदम गिरी