३ असोज, पर्वत । चौतारी सञ्चार सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शेयर सदस्य तथा सहकारीकर्मीहरुको सहभागितामा सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि पुनः केशवराज पुरीलाई अध्यक्षको रुपमा चयन गरेको छ ।
कुश्मास्थित बन्दना होटलको सभाकक्षमा आयोजित सहकारीको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन अध्यक्ष केशवराज पुरीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । उद्घाटन मन्तव्य राख्दै अध्यक्ष पुरीले सहकारीले साच्चिकै सहकारीको आदर्श र मूल्यमान्यताअनुरुप चल्न सकेमात्र देशले अपेक्षा गरेको समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्य प्राप्त गर्न सकिने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले सहकारीको माध्यमबाट मात्र मुलुकले परिवर्तनको अनुभूति गर्न सक्ने वातावरण बन्ने हुनाले सबै शेयर सदस्यहरुले आ–आफ्नो स्थानबाट सहकारीको बृहत्तर भावनाअनुसार भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका थिए । यसरी मन्तव्य राख्नेहरुमा कानुनविद् तथा अधिबक्ता गणेशबहादुर कुँवर, पत्रकार लक्ष्मण सापकोटा, उमाकान्त तिवारीलगायतका व्यक्तिहरु हुनुहुन्थ्यो । अधिवेशनमा सहकारीको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष केशवराज पुरीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष टंकलाल भुषालले प्रस्तुत गर्नुभएको थियो । अधिवेशनले आगामी वर्षहरुका लागि प्रस्तावित कार्यक्रमहरु सर्वसम्मतरुपमा पारित गरेको छ ।
अधिवेशनकै सन्दर्भ पारेर सहकारीले आफ्ना उत्कृष्ठ ऋणी र बचतकर्तालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा ऋणीतर्फ प्रेम श्रेष्ठ र बचतकर्तातर्फ भगवान गिरी र दुर्गाप्रसाद शर्मा हुनुहुन्छ ।
सोही अधिवेशनले आगामी दिनका लागि नयाँ कार्यसमितिको पनि निर्वाचन सम्पन्न गरेको छ । अधिवेशनको निर्वाचन र सर्वसहमतीको प्रक्रियाबाट पुनः केशवराज पुरीको अध्यक्षतामा उपाध्यक्ष हिमबहादुर पौडेल क्षेत्री, सचिव प्रेमप्रसाद पौडेल, कोषाध्यक्ष टंकलाल भुषाल र सदस्यहरुमा क्रमशः मधु कार्की, रमेश पौडेल, गणेश पौडेल, गोकर्णप्रसाद शर्मा र उज्जवल अधिकारीलाई चयन गरेको छ । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक राजेन्द्र पहाडीले संस्थागत सपथ खुवाउनुभएको थियो भने निर्वाचन मण्डलका सदस्यहरु हरी शर्मा र हरीकुमार नेवार श्रेष्ठ र सर्वसम्मत पदाधिकारी चयनका लागि बनेको समन्वय समितिका संयोजक गणेशबहादुर कुँवर र सदस्यहरु गणेश पौडेल र लक्ष्मीप्रसाद अधिकारीले टिका तथा खादा प्रदान गरी बधाई दिनुभएको थियो ।
अधिवेशनले लेखा समिति संयोजकमा उमाकान्त तिवारीलाई चयन गरेको छ । अधिवेशनको समापन समारोहमा बोल्दै निर्वाचन समितिका संयोजक राजेन्द्र पहाडीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई दिँदै उहाँहरुको सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो । नवनिर्वाचित कार्यसमितिको तर्फबाट अध्यक्ष केशवराज पुरीले आफ्नो ल्याकतले भ्याएसम्म चौतारी सञ्चार सहकारी संस्था लिमिटेडको बृहत्तर हितका लागि अविश्राम खटिइरहने प्रतिबद्धता जनाउनुभएको थियो । साधारणसभा तथा अधिवेशन उद्घाटनशत्रको सञ्चालन सचिव प्रेमप्रसाद पौडेल र स्वागत गणेश पौडेलले गर्नुभएको थियो ।




