३ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ११ पकुवामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कुश्मा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा जिल्ला स्वास्थ्य कार्यालयकी प्रसुति रोग विशेषज्ञ डा. हेमा छन्त्याल र डा. विवेक भण्डारीले विरामीहरुलाई विशेषज्ञ सेवा प्रदान गरेका थिए ।
स्वास्थ्य शिविरमा फिस्टुला तथा पाठेघरको मुखमा हुने क्यान्सर स्क्रिनिङका विरामीहरुको जाँच गरिएको कुश्मा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख उमाकान्त सापकोटाले जानकारी दिए । सापकोटा अनुसार स्वास्थ्य शिविरमा १ सय ५१ जनाले सेवा लिएका छन ।
जसमध्ये २५ जनाको पेल्भिक अंग खसेको पाइएको छ भने ८ जना विरामीको रिङ पेसरी राखि प्रारम्भिक ब्यवस्थापनको सेवा प्रदान गरिएको छ ।
स्वास्थ्य शिविरमा आएका विरामी मध्ये ४ जनाको पाठेघरको मुखमा क्यान्सर हुनसक्ने सम्भावना देखिएकाले थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अपस्तालमा रिफर गरिएको छ । सेवाग्राही मध्ये १ सय ५ जनालाई विभिन्न औषधि प्रदान गरिएको सापकोटाले जानकारी दिए ।
ग्रामीण क्षेत्रका विशेषगरी महिला तथा विपन्न परिवारमा पाठेघरको क्याम्सर र फिस्टुलाका विरामीहरु उपचारको अभावमा समस्यामा पर्दै आएका छन । उक्त कुरालाई मनन गरी कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाले जिल्ला स्वास्थ्य कार्यालयसंगको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
रोगलाई लुकाउने र लाज मान्ने प्रवृत्तिका कारण पछिल्लो समय पाठेघरका क्यान्सर भएका विरामीहरुको संख्या बढिरहेको छ । समयमै उपचार नगराउँदा विरामीहरुको संख्यामा बृद्धि हुन लागेकाले पनि ग्रामीण क्षेत्रमा यस्ता शिविरहरुको आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास लामिछाने, वडा अध्यक्ष शिव पौडेल, कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमाकान्त सापकोटा, सह संयोजक यामप्रसाद शर्मा, जनस्वास्थ्य अधिकृत सजिना महर्जन, सुरक्षित मातृत्व कार्यक्रमकी सीमा कुँवर लगाएतले स्वास्थ्य सेवाको बारेमा आफ्नो धारणा राखेका थिए । शिविरको उद्घाटन कार्यक्रमको सञ्चालन पकुवा स्वास्थ्य चौकीका इन्जार्ज सोभिता कुमारी शर्माले गरेकी थिइन ।




