६ चैत, पर्वत । २०७२ सालको विनाशकारी भुकम्पले भत्काएको विद्यालयको भवनको पुर्ननिर्माण नहुँदा विद्यार्थी खुल्ला आकाशमा पढ्न बाध्य भएका छन ।
विनाशकारी भुकम्पले भत्काएको जिल्लाको विहादी गाउँपालिका वडा न २ स्थित आम्बारी माविको ७ कोठे भवनको पुर्ननिर्माण नहुँदा विद्यार्थी समस्यामा परेका हुन ।
‘भुकम्पले भवन भत्कायो, अहिलेसम्म पुर्ननिर्माण भएको छैन’ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद पौडेलले भने–‘विद्यार्थीहरु खुल्ला चौरमा पढाउन बाध्य छौं’ हिउँदको समयमा खुल्ला आकाशमा पढाउदा बर्षात शुरु भएकाले समस्या परेको उनको भनाई छ ।
पुर्न निर्माणका लागि श्रोत केन्द्र हुँदै जिल्ला शिक्षा कार्यालयमा ३ कोठे भवनको प्रस्ताव गएपनि कार्यालयले भने भवन अन्यत्रै निर्णय गरीदिएको पौडेलले दुःखेसो गरे ।
गाउँपालिका भरीमा धेरै विद्यार्थी भएको विद्यालयमा कक्षा कोठाको समस्या भएपछि अध्यापनमा समस्या परेको छ ।
विद्यालयमा अहिले ३ सय ४० जना विद्यार्थी अध्ययनरत छन ।
विद्यालयका प्रअ गणेश शर्मा पौडल भन्छन–‘हावाहुरीका कारण कतिबेला भवन पल्टन्छ कुनै भर छैन ।’
हावाहुरीले कक्षा कोठा पनि असुरक्षित बनेको र खुल्ला चौरमा अध्यापन गराउन समस्या परेको उनको भनाई छ ।
भुकम्पले विद्यालयको शौचालयमा पनि क्षति बनाएको थियो ।
शौचालय पनि अहिलेसम्म मर्मत हुन सकेको छैन ।
भवन भत्कदा कक्षा २, ३, ५, ७ र ८ का विद्यार्थीलाई अध्ययनमा समस्या परेको छ । छिया छिया परेको भवनमा २ बर्ष देखि अध्यापन गराउँदै आएका थियौ ।
प्रअ पौडेलले भने–‘हावाहुरीले थप क्षति बनाउँदा यो बर्ष देखि खुल्ला आकाश बाहेकको विकल्प छैन’ बर्षायाम शुरु भएकाले भवन जुनसुकै बेला पनि भत्कन सक्ने उनको भनाई छ ।
भवन निर्माणका लागि हालसम्म कसैले पनि चासो नदेखाएको प्रति उनले गुनासो गरे ।
गाउँपालिका अध्यक्ष कमल भुषालले विद्यालयको अवस्था दयनीय भएको भन्दै भवन निर्माणको पहल गर्ने दावी गरे ।
विद्यार्थीहरु समेत आन्दोलनमा उत्रेको खबर आफूले सुनेको भन्दै पढन पाउनु विद्यार्थीको पहिलो अधिकार भएकाले त्यस तर्फ आफू संवेदनशिल गरेको भुषालको भनाई छ ।
विद्यालयमा भवन निर्माणको लागि आन्तरीक श्रोत नहुने र सम्बन्धित निकायले भवन निर्माणमा चासो नदेखाउँदा भवन निर्माण कार्य अझै पनि शुरु हुन सकेको छैन ।
पहिला गाउँ सभामा भवन निर्माणमा सम्बोधन नगरेको गाउँपालिकाले आगामी गाउँ सभामा भवन निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । –राजधानी दैनिकबाट




