७ फागुन, पर्वत । प्रजातन्त्र दिवसको कार्यक्रम पर्वतमा सामान्य औपचारिकतामा मात्र सकिएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा सोमबार विहान प्रभातफेरी कार्यक्रम र जिल्ला अस्पतालका ३ जना विरामीलाई फलफूल वितरण गर्दै दिवस मनाईएको हो ।
कुश्मा नगरपालिकाको संयोजनमा भएको कार्यक्रम औपचारिकमा मात्र सिमिति भएको हो ।
सोमबार लोकतन्त्र चोकबाट शुरु भएको प्रभातफेरी जिल्ला अस्पतालमा पुगेको थियो ।
उक्त टोलीले अस्पतालमा रहेका ३ जना विरामीलाई फलफूल वितरण गरयो ।
जिल्ला अस्पतालमा १५ सैया रहेपनि प्रजातन्त्रका दिन जम्मा ३ जना मात्रै विरामी वेडमा भर्ना भएका थिए ।
प्रभातफेरी पछि कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिता काप्लेले विरामीलाई फलफूल वितरण गरे ।
फलफूल वितरण पछिको निकै संक्षिप्त अनौपचारिक कार्यक्रममा नगरप्रमुख जोशीले शहिदलाई स्मरण गरे र प्रजातन्त्रको दीगोपनको कामना गरेर कार्यक्रम सम्पन्न भएको घोषणा गरे ।
ब्यानर लिएका केहि सदस्यहरु तस्विर खिचाउनमा ब्यस्त देखिन्थे ।
नागरिक समाजका अगुवा बाहेक सामान्य नगारिकको कार्यक्रममा उपस्थिती थिएन ।




