Print

कार्किनेटा–ठुलिपोखरी–दोविल्ला सडक कालोपत्रे हुँदै, निर्माण कार्य मन्द गतिमा

९ माघ, पर्वत । जिल्लाको सदरमुकाम कुश्मालाई कार्किनेटासंग जोड्ने दोविल्ला–ठूलिपोखरी–खौला–कार्किनेटा सडक कालो पत्रे हुँदैछ ।

बहुबर्षिय ठेक्का अन्तर्गत कुश्मा नगरपालिका वडा न ११ पकुवाको सिल्मी देखि कार्किनेटाको झण्डै १४ किलोमिटर कच्चि सडक कालो पत्रे हुने गरी निर्माण कार्य शुरु भएको हो ।

फलेवास नगरपालिका वडा न १ कार्किनेटालाई सदरमुकामसंग जोड्ने उक्त सडकका लागि १४ करोड ३६ लाख ८४ हजार ६ सय ५७ रुपैंया रकम विनियोजन भएको छ ।

सडकको निर्माण कार्य पुरा भएसंगै उत्तरी क्षेत्र कुश्मा नगरपालिकाबाट महाशिला गाउँपालिका र पैयू गाउँपालिकमा पून समेत उक्त सडक प्रयोग हुनसक्नेछ ।

नेपाल सरकारको ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत उक्त सडक कालोपत्रे हुन लागेको हो । सडक कालोपत्रे भएपछि कुश्मा नगरपालिकाको, ठुलिपोखरी, खौला, कार्किनेटा र थापाठानाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन ।

उक्त सडकमा हाल स्तरोउन्नतीका काम भईरहेको छ । सडक चौडा गर्ने र ग्रेडिङ मिलाउने काम भईरहेको निर्माण कम्पनीले जनाएको छ ।

सिल्मी देखि ठुलिपोखरी खण्डमा भईरहेको काम भने तोकिएको समय सिमा भन्दा निकै मन्द गतिमा भईरहेको छ ।

ठुलिपोखरीका वडा अध्यक्ष राजेन्द्र पौडेलले निर्माण कार्यलाई सम्झौता बमोजीम गर्न निर्माण कम्पनीसंग पटक पटक अनुरोध गरेपनि अटेर गरेको बताउँछन ।

पकुवाका वडा अध्यक्ष शिव पौडेलले काममा कुनै पनि अवरोध नभए पनि निर्माण पक्ष भने धिमा गतिमा अगाडि बढेको आरोप लगाउँछन ।

नगरक्षेत्रमा कालोपत्रेका सडक नभएको बेला दोविल्ला देखि कार्किनेटा र दोविल्ला देखि फलेवास क्षेत्रको सडक  कालोपत्रेको कामले भने गति लिएको छ ।

जिल्लाको कुश्मा नगरपालिका दोविल्लाबाट फलेवास क्षेत्रसम्मको लागि कालोपत्रेको काम भईरहेको बेला सोही सडकसंग जोडिएको उक्त सडक कालोपत्रे हुन लागेको हो ।