Print

‘समाज सम्बृद्धिका लागि शैक्षिक क्षेत्रको विकास अनिवार्य’–एमाले नेता तिमिल्सीना

८ माघ, पर्वत । नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेश प्रसाद तिमिल्सीनाले समाज सम्बृद्धिका लागि शैक्षिक क्षेत्रको विकास अनिवार्य रहेको बताएका छन ।

सोमबार मोदी गाउँपालिकाको तिलाहारमा रहेको नवजागृत माध्यमिक विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै नेता तिमिल्सीनाले सम्बृद्ध समाज निर्माण गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै शैक्षिक विकास पहिलो आवश्यकता रहेको बताएका हुन ।

नेकपा एमाले प्रदेश न ४ का सह संयोजक समेत रहेका तिमिल्सीनाले देशका सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा अझै पनि प्रदान हुन नसकेको भन्दै आगामी बामपन्थी सरकारले शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने धारणा राखे ।

उनले शिक्षित जनशक्ति उत्पादन हुँदा देश विकास गर्न सहज हुने भन्दै शिक्षक, अभिभावक र विद्यार्थीको मेहनतबाट नै दक्ष जनशक्ति उत्पादन हुने धारणा ब्यक्त गरे ।

पर्वतको शैक्षिक, सामाजिक, आर्थिक र पूर्वाधार विकासमा आफू सधै जिल्लाबासीका साथमा रहेको भन्दै नेता तिमिल्सीनाले आफू पदमा रहे पनि नरहे पनि ति सवै काममा लागि पर्ने समेत दावी गरे ।

कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले गाउँपालिकाले शैक्षिक गुणस्तर ल्याउन विशेष कार्यक्रम ल्याउने बताए ।

उनले शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिका संवेदनशिल रहेको भन्दै नीजि विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्न आवश्यक रहेको औल्याए ।

कार्यक्रममा वडा अध्यक्ष विमल लामिछानेले वडा भित्रका सवै सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि एकिकृत योजना तर्जुमा गरिने बताए ।
उनले सामुदायिक विद्यालयलाई विद्यार्थीहरुलाई आकर्षित गर्न आवश्यक रहेको भन्दै वडा भित्र गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयबाट नै प्रदान हुने गरी योजना निर्माण गरिने विश्वास दिलाए ।

विद्यालयका पूर्व प्राचार्य प्रेम लामिछाने, बाुबराम सुवेदी, कृष्ण बहादुर घर्ति क्षेत्री, तिर्थबहादुर लामिछाने, शिक्षासेवी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

लोकेन्द्रजंग लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन हरीबहादुर लामिछाने र स्वागत मन्तब्य दिनेश शर्माले ब्यक्त गरेका थिए ।