Print

प्रदेश सभामा पर्वतका ४ सांसदले सपथ लिए, यी हुन पर्वतबाट प्रदेश मन्त्रीका आकांक्षी

८ माघ, पर्वत । प्रदेश न ४ अन्तर्गत आइतबार सम्पन्न सपथ ग्रहणमा पर्वतका ४ जना सांसदले सपथ लिएका छन ।

प्रदेश सभाको हिजो सम्पन्न सपथ ग्रहण समारोहमा पर्वतबाट २ जना प्रत्यक्ष निर्वाचित सांसद र २ जना समानुपातिक निर्वाचन विधिबाट निर्वाचित सांसदले सपथ लिएका हुन ।

प्रदेश सभामा क्षेत्र न १ बाट निर्वाचित माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी र प्रदेश न २ बाट निर्वाचित नेकपा एमालेका नेता विकाल लम्सालले सपथ लिएका हुन ।

यसैगरी समानुपातिक निर्वाचित विधि मार्फत निर्वाचित भएका नेकपा एमालेकी जुनादेवी नेपाली र नेपाली कांग्रेसकी ललितकला गुरुङले पनि सपथ लिएकी छिन ।

योसंगै जिल्लामा हालसम्म प्रदेश सभामा ४ जना सांसदले प्रतिनिधित्व गर्ने अवसर पाएका छन ।

नेपाली, नेकपा एमालेको तर्फबाट समानुपातिक सिटमा निर्वाचित सांसद हुन भने गुरुङ कांग्रेसको तर्फबाट निर्वाचीत भएकी हुन ।

नेपाली कुश्मा नगरपालिका पिपलटारी निवासी हुन । गुरुङ मोदी गाउँपालिकाको देउपुर निवासी हुन ।

प्रदेश सभा गठनले मुर्त रुप लिएसंगै प्रदेशमा मुख्य मन्त्री र मन्त्रीहरुको चर्चा शुरु भएको छ ।

प्रदेश न ४ को मुख्य मन्त्रीको रुपमा यस अघि नै नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङको चर्चा छ ।

यस अघि पनि मन्त्री भईसकेका लमजुङका गुरुङसंगै तनहुँका किरण गुरुङले समेत आकाक्षा ब्यक्त गरेका छन । प्रदेश न ४ का संयोजक समेत रहेका गुरुङ पनि पूर्व मन्त्री हुन ।

यसैवीच पर्वतबाट प्रतिनिधित्व गर्ने ४ सांसद मध्ये कम्तिमा एक जनाले मन्त्री पाउने देखिन्छ ।

माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य समेत रहेका कारण प्रदेश मन्त्रीमा सांसद अधिकारीले जिम्मेवारी पाउन सक्ने माओवादी निकट कार्यकर्ताहरुको अनुमान छ ।

अधिकारी प्रदेश न ४ अन्तर्गत साविकको धौलागिरी अञ्चलकै सिनियर नेता भएकाले पनि उनको सम्भावना रहेको बताईन्छ ।

पार्टी अध्यक्ष प्रचण्ड निकट मानिने अधिकारी २०७० सालको निर्वाचनमा समेत प्रतिनिधि सभाको उमेदवार थिए ।

माओवादीको सशस्त्र युद्धकाल देखि नै माओवादी आन्दोलनमा सक्रिय अधिकारीलाई पार्टी भित्र नरमपन्थी नेताको रुपमा चिनिन्छ ।

उता, प्रदेश न २ मा एमालेको तर्फबाट निर्वाचित लम्साल समेत मन्त्रीको आकाक्षी हुन । उनले निर्वाचनको प्रचार प्रसारको क्रममा आफू मन्त्री बन्नकै लागि प्रदेश निर्वाचन लडेको बताउँदै आएका थिए ।

यद्यपि लम्साल भन्दा सिनिएर नेताहरु समेत प्रदेश सभामा रहेका कारण उनको मन्त्रीको सम्भावना निश्चित नरहेको एमाले श्रोत बताउँछ ।

माओवादीको तर्फबाट अधिकारी मन्त्री भएमा एउटै जिल्लाका कारण पनि लम्सालको सम्भावना कम रहेन सक्ने कार्यकर्ताहरुको अनुमान छ ।
उता, लम्साल मन्त्री भएमा पनि अधिकारीको सम्भावना कम रहनसक्छ ।

लम्सालले भने प्रदेश सभामा मन्त्रीको चर्को आकाक्षा ब्यक्त गरेका छन । प्रदेशमा ९ जना मात्र मन्त्री रहनसक्ने प्रावधान संविधानले निदिष्ट गरेको छ ।
कुल ६० जना प्रदेश सांसद रहेको प्रदेश न ४ मा ९ जनाले मात्र मन्त्रीको पद पाउनेछन । सहयाक मन्त्री र राज्य मन्त्रीको संख्याको बारेमा भने हालसम्म निक्यौल भईसकेको छैन ।