Print

२५ वर्षपछि बलेवा विमानस्थल सञ्चालनमा आउने

 १ माघ, बागलुङ । बागलुङको बलेवा विमानस्थल चैत पहिलो साताबाट सञ्चालनमा आउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण बबरमहलमा आइतबार भएको छलफलपछि बलेवा विमानस्थलमा उडान हुने निश्चित भएको हो।

प्राधिकरणका उपमहानिर्देशकद्वय राजन पोखरेल र नरेन्द्र थापा, माओवादी केन्द्रका नेता तथा पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल र निवर्तमान सांसद प्रकाश पौडेल तथा नेपाल वायु सेवा निगम, सिम्रिक एयर, तारा एयर, मकालु एयरका प्रतिनिधिबीच विमान सञ्चालनका लागि छलफल भएको थियो।

छलफलमा तीनबुँदे सहमति भएको छ। छलफलमा सहभागी कृष्ण सापकोटाका अनुसार प्राधिकरणले एयरपोर्टको मर्मत सम्भार र उपकरण सहितको आवश्यक भौतिक व्यवस्था र कर्मचारी खटाउनेछ।

यस्तै, नेपाल वायुसेवा निगम र तारा एयरले हप्ताको एकपटक नियमित उडान भर्नेछ। यात्रुको सुनिश्चितता र व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने काम बागलुङ नगरपालिकाले गर्ने भएको छ। बागलुङबासीले लामो समयदेखि एयरपोर्ट सञ्चालनको माग गर्दै आएका थिए।

जिल्लाको नारायणस्थान गाविसस्थित बलेवा विमानस्थल सञ्चालन नहुँदा यहाँ रहेका भौतिक पूर्वाधारसमेत बिग्रँदै गएका छन्। पोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि ०४९ सालदेखि बलेवा विमानस्थल बन्द भएको थियो।

०२४ सालदेखि सञ्चालनमा आएको विमानस्थलबाट काठमाडौं, पोखरा, भैरहवा, जोमसोमलगायत क्षेत्रमा उडान हुने गरेको भए पनि लामो समयसम्म बन्द भएपछि विमानस्थल अहिले गौचरन र खेलमैदान बनेको छ। १९ रोपनी जग्गामा रहेको विमानस्थलको धावनमार्ग घाँस र झारले भरिनुका साथै तीन वटा भवन प्रयोगविहीन अवस्थामा छन्।

‘धेरै लामो मिहिनेत र प्रतीक्षापछि सुखद निर्णय गराउन सफल भएका छौं’, बागलुङ नगरपालिकाका मेयर पौडेलले भने, ‘अब विमान नियमित सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार (सडक स्तरोन्नति) र अन्य सेवा–सुविधाका लागि उपयुक्त वातावरण बनाउनुपर्ने चुनौती छ।’

यसका लागि स्थानीय सरकारका रूपमा रहेको नगरपालिकाका तर्फबाट आवश्यक पहल र भूमिका निर्वाह गर्ने मेयर पौडेलले प्रतिबद्धता जनाए। बागलुङ सदरमुकामदेखि बलेवा विमानस्थलसम्मको सडक विस्तार भएको र अब यसलाई ग्राभेल गरेर कालोपत्रे गर्नतर्फ ध्यान केन्द्रित गरिने उनको भनाइ छ। –अन्नपूर्ण पोस्ट दैनिकबाट