पदम दाई नमस्कार, मरुभूमि तुल्य खाडी देशको ४५ औं तले घरको छतमा बालुवा र सिमेण्ट बोक्दा थाकेको यो शरीरले थोरै समय मिलाएर हजुरको सामु दुई शब्द कोर्दै छु । आराम त छैन तर आरामताको खबर पठाउँदैछु । लाग्छ हजुर आराम हुनुहुन्छ होला । २०५१ सालमा भएको संसदीय निर्वाचनमा सायद केटाकेटी थिए । २०६४ सालको निर्वाचनमा मतदान गर्ने उमेर पुगेकै थिएन । २०७० सालको निर्वाचन हुनै लाग्दा विदेशीएको म अहिले पनि परदेश मै छु । यो पटक तिव्र इच्छा थियो, परिर्वतनगामी शक्ति र युवा पुस्ताका सचेत योद्धा हजुरको चुनाव चिन्ह्मा मतदान गर्ने तर विवश छु परदेशमै छु ।
घरमा बुवा र आमालाई फोन गरे । बुवा आमालाई राजनैतिक सचेतना छैन । ‘विए पढेको छोरो खाडी मूलुकमा जानुपरेको छ । कसलाई भोट हालेर के भयो र भन्नुभयो ?’ सम्झाए– ‘हजार, पाँच सय कसैले दिन आउँलान नलिनु । अवको ५ बर्षमा जस्ले परिर्वतनमुखी काम गर्नसक्छ उसैलाई भोट दिनुपर्छ ।’ अझसम्म पनि देशले विकासको गति लिन सकिरहेको छैन । बुवालाई सम्झाए –‘तपाईले पाएको भत्ता दिने पार्टीको नेता पदम दाईलाई यस पटक भोट दिनुस ।’ बुवाले मैले मात्र भत्ता पाएर के गर्नु त परदेशमै छस, दुःख मान्दै भन्नुभयो । आमालाई सम्झाएर भने –‘आमा पदम दाई विपन्न परिवारमा जन्मेरै राजनीति शुरु गर्नुभएको हो, हामी जस्ता गरिबको पिडा उहाँलाई राम्रैसंग थाहा छ ।’ हामीलाई पार्टी र राजनीति चाहिँदैन् जनताको मन जित्नु भएन भने अर्को पटक अर्को ब्यक्ति चुनौला आमालाई भने–‘छोराको अनुहार सम्झेर पदमदाईलाई भोट हाल्नुस ।’ आमाले बुवालाई सम्झाएर जसरी पनि भोट हाल्छु भन्ने वाचा गर्नुभयो ।
पदम दाई, मेरो मन घाइते जस्तै भएको छ । बर्षौ देखि रुख चिन्ह्मा मतदान गर्ने मेरा बुवाआमालाई तपाईको सूर्य चिन्ह्मा मतदान गराउन गाह्रो भएको छ । मेरो घरको दुई भोट निर्णायक होइन दाई, तर दुई भोट मात्रै होइन, हजुरको पक्षमा हजारौं भोट खसाल्न म प्रत्यन्नशिल छु परदेशमा । तपाईको हसिँलो चेहेरा र वान्की परेको हाँसोले बताएको छ तपाई पर्वतवासीको जनमनको प्रतिनिधि भईसक्नुभएको छ । चुनाव जितिसक्नुभएको छ । जितेपछि रसरंगमा भुल्ने, अकूत धन आर्जन र नातवाद कृपावादमा फस्ने नगर्नुहोला । अर्को पटक दुःखत पत्र लेख्दै तपाईको विपक्षमा मत हाल्ने गरी काम नगर्नु होला ।
गरिबीको पिडा के हो तपाईलाई राम्रोसंग थाहा छ, श्रमको मूल्य कति हो तपाईलाई म सिकाइराख्नु पर्दैन । समाज परिर्वतन र राष्ट्रको विकास कसरी गर्न सकिन्छ हामीले भनिरहनु पर्दैन । तपाईसंग त्यो जोश छ, आँट छ । गाउँघरका साथि भाईलाई फोन गरेर भनेको छु –‘हामीलाई मुन्द्रे, भरौटे बनाएर अघि पछि हिडाउने पार्टीलाई होइन, सम्बृद्ध पर्वत बनाएर हामीलाई स्वदेशमै स्वाबलम्बि बनाउने पदम दाईलाई भोट हाल्नुहोस ।’
विश्वस्त छु, बुवाआमाले तपाईलाई आफ्नो छोरो सम्झेर मतदान गर्नुहुनेछ, युवा पुस्ताको तपाईसंग आशा, भरोसा र विश्वास छ । तपाई कुनै दलको नेता होइन पर्वतबासीको चाहना, आशा र भरोसा हो । ५ बर्षमा पर्वतलाई विकासको खुटकिलोमा हिडाउने तपाई सपना देख्नुहोस दाई, परिर्वतन सम्भव छ युवा पुस्ताबाट । बाँकी कुरा घर आउँदा भेट्ने छु ।
समुन्द्रपारीबाट दुःखी भाई
अमित ‘सागर’ पर्वत ।




