१४ कार्तिक, पर्वत । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उमेदवारी छनौट प्रक्रिया राजनैतिक दलहरुले अन्तिम चरणमा पुराएका छन । आगामी कार्तिक १६ गते उमेदवारी दर्ता गर्ने समय रहेकाले त्यो समय अगावै उमेदवारी टुंगाउने कसरतमा राजनैतिक दलहरु जुटिरहेका छन । पर्वतमा मुख्य गरी बाम गठन बन्धन (एमाले र माओवादी) र नेपाली कांग्रेस वीच प्रतिस्पर्धा हुने भएकाले ति दलहरु आफ्नो उमेदवार छनौटमा ब्यस्त देखिन्छन ।
यस अघि नेपाली कांग्रेसले दलका शीर्षस्थ नेताहरुको उमेदवार टुंगाउने लिस्टमा पर्वतबाट प्रतिनिधि सभा निर्वाचनका लागि पर्वतका अर्जुन जोशीको उमेदवारी तय गरिसकेको छ । कांग्रेसले प्रतिनिधि सभाका लागि जोशीको उमेदवारी तय गरेपछि क्षेत्र न १ (क) र क्षेत्र न २ (ख) मा आफ्नो उमेदवार टुंगाउने कसरमा नेपाली कांग्रेस जुटेको छ । कांग्रेसको तर्फबाट केन्द्र्रिय सदस्य समेत रहेका निर्वतमान सांसद जोशीलाई केन्द्रिय निर्वाचनमा उठाउने निर्णयसंगै प्रदेश निर्वाचनमा उमेदवारहरुका वीचमा उमेदवारी हत्याउने तिव्र प्रतिस्पर्धा देखिन्छ । जोशीले आफूले चुनाव लड्ने सन्दर्भमा आफूले सिफारिस गरेकाहरुलाई पार्टीले टिकट दिनुपर्ने लबिङमा देखिन्छन ।
क्षेत्र न १ बाट नवराज गुरुङ, राम शर्मा, विद्धान गुरुङ र कृष्ण केसी टिकटका लागि लबिङमा छन । जेष्ठताको हिसावले नवराज गुरुङले टिकट पाउने आकलन गरिएपनि जोशीले भने केसीको नाम सिफारिस गरेको कांग्रेस श्रोत बताउँछ । गुरुङ कांग्रेस पर्वतका पुर्व सभापति हुन भने २०७० सालको संविधान सभाको निर्वाचनमा पर्वत क्षेत्र न २ मा एमालेसंग पराजीत भएका उमेदवार समेत हुन । सभापति देउवाका विश्वासपात्र मानिने गुरुङसंगै शर्मा पनि टिकटका बलियो आकाक्षीको रुपमा छन । कांग्रेस श्रोतका अनुसार गुरुङले नै प्रदेशको उमेदवारको रुपमा क्षेत्र न १ (क) मा टिकट पाउने निश्चित जस्तै देखिएको छ । शर्मा जिल्ला विकास समिति पर्वतका पुर्व उप सभापति समेत हुन । तरुण दलका केन्द्रिय कोषाध्यक्ष रहेका अर्का गुरुङ र केसीले भने कांग्रेसमा युवा पुस्ताको प्रतिनिधित्व गर्छन ।
उता, क्षेत्र न २ मा भने ऋषीकेश तिवारी र राजेन्द्र तिवारी वीच उमेदवारीको रस्साकस्सी चलेको देखिन्छ । ऋषीकेश तिवारी पूर्व सासंद र नेपाली कांग्रेसका मुख्य सचिव समेत भईसकेको पुराना नेता हुन भने अर्का तिवारीले युवा पुस्ताको प्रतिनिधित्व गर्छन । उनी महाधिवेशन प्रतिनिधि हुन । जोशीले आफू केन्द्रीय चुनाव लड्ने सन्दर्भमा युवा पुस्ताका तिवारीको नाम सिफारिस गरेको श्रोत बताउँछ । कांग्रेस श्रोतका अनुसार ऋषीकेश तिवारीको सम्भावना यो क्षेत्रमा बलियो छ । यद्यपि औपचारिक निर्णय नभएसम्म उमेदवार परिर्वतन हुनसक्ने पनि कांग्रेस श्रोतको आकलन छ ।
उता, कांग्रेस कार्यकर्ता जोशी केन्द्रिय निर्वाचनमा लड्ने पक्का भएपछि प्रचार प्रसारमा जुटेका छन । जोशी पर्वतमा ३ पटक निर्वाचनमा विजयी भएको हिसाबले जिल्लामा बलिया नेताका रुपमा चिनिन्छन । यद्यपि कांग्रेस प्रदेशको टिकटमा विवेक नपुराएमा भने कांग्रेसलाई जिल्लामा बामपन्थीहरुले सहजै पराजय गराउन सक्ने कांग्रेस बृत्तमा चर्चा शुरु भएको छ । स्थानीय तहको मतसंख्याको हिसाबले बामपन्थीहरुको संख्या जिल्लामा झण्डै ५ हजारको संख्यामा बढि देखिन्छ । यो हिसावले एकता मजबुद भएमा भने कांग्रेसलाई जितका लागि ठूलो संघर्ष गर्नुपर्छ ।




