१४ कार्तिक, पर्वत । आगामी प्रदेशको निर्वाचनमा बाम तालमेलका कारण पर्वत क्षेत्र न १ माओवादीको कोल्टामा परेपछि एमाले कार्यकर्ताले मिश्रित प्रतिक्रिया जनाएको छन । प्रदेश सरकार गठनका लागि आगामी मंसीर २१ गते हुन लागेको निर्वाचनमा माओवादी र एमालेको तालमेलका कारण क्षेत्र न १ मा एमालेले उमेदवार उठाउन नपाउने भएको छ । केन्द्रिय स्तरमा भएको यो निर्णयसंगै जिल्लामा एमाले कार्यकर्ता भने निराश छन । उनीहरुले मिश्रित प्रतिक्रिया जनाएका छन ।
विगत ३ वटा संसदीय निर्वाचनमा पराजित हुँदै आएको एमालेको यो क्षेत्र धौलागिरी क्षेत्रकै बलियो आधार क्षेत्र मानिन्छ । यस अघि नेपाली कांग्रेसका अर्जुन जोशीले लगातार ३ पटक विजयी हासिल गरेर एमालेलाई पछाडी पार्दै आएका थिए । जोशीले पार्टी भन्दा ब्यक्तिगत भोट ल्याएका कारण एमाले पराजय हुँदै आएको विश्लेषण कार्यकर्ताले गर्दै आएका थिए । आगामी निर्वाचनमा एमालेको जीत सहज भएको आकलन गरिएको बेला केन्द्रिय स्तरमा भएको सम्झौता बमोजीम माओवादीले गोलाकार भित्रका हँसिया हथौता चिन्ह् लिएर चुनाव लड्ने निश्चित भएसंगै क्षेत्र न १ एमालेको उमेदवार विहिन हुने भएको हो । योसंगै बर्षौ पछि चुनाव जितेर सूर्य ध्वजा फहराउने एमाले कार्यकर्ताको सपना विक्षिप्त बनेको छ ।
क्षेत्र न १ एमालेको भागमा नपरे पनि बाम एकताले देशलाई आर्थिक सम्बृद्धिको पथमा लैजाने भन्दै एमाले अध्यक्ष पदम गिरीले राजधानीको एक कार्यक्रममा एमाले कार्यकर्तालाई दिल खुलेर हसिँया हथौडा चिन्ह्मा मतदान गर्न अनुरोध गरिसकेका छन । उनले कार्यक्रममा बोल्दै बाम एकता नै आजको आवश्यकता भएकाले एमालेले माआोवादीलाई र माओवादीले एमालेलाई मतदान गर्न नहिचकिचाउन समेत अनुरोध गरे । यद्यपि कार्यकर्ताले भने एमालेको बलियो आधार क्षेत्र नै एमालेले गुमाउँदा मतपरिणाम सोचे जस्तो नआउन सक्ने प्रतिक्रिया जनाउँदै आएका छन । माओवादी र एमालेको मत यो क्षेत्रमा नेपाली कांग्रेसको भन्दा धेरै देखिन्छ ।
स्थानीय तहको निर्वाचन, २०७० सालको संसदीय निर्वाचनको मतमा दुई बाम गठबन्धनको मत जोड्दा कांग्रेसलाई पराजय सहज देखिन्छ । यद्यपि बाम तालमेलका कारण पार्टीले क्षेत्र गुमाउदा असन्तुष्ट बनेका कार्यकर्ताहरुर्लाइ पार्टीले भने सन्तुष्ट बनाउने गरी योजना निर्माण नगर्दासम्म निर्वाचन जित्न सहज नभएको कार्यकर्ताहरुले बताउँदै आएका छन ।




