१३ कार्तिक, पर्वत । आगामी प्रदेश र संघको निर्वाचनमा पर्वतमा कुन पाटीका उमेदवारले बाजी मार्ने हुन भन्ने आम जिज्ञासा यतिबेला बढिरहेको छ । विभिन्न अडकल बाजीहरु समेत चोकहरुमा हुन शुरु गरिसकेका छन । आगामी निर्वाचनमा प्रष्ट दुई वटा मोर्चाहरु चुनावी मैदानमा आउने निश्चित भईसेको छ । बाम मोर्चाको नाउँमा एमाले र माओवादी चुनावी मैदानमा हुनेछन भने लोकतान्त्रिक मोर्चाको रुपमा पर्वतमा कांग्रेसको अगुवाईमा राप्रपा, नयाँ शक्ति लगाएतका दलहरु चुनावी मैदानमा छन । दुई शक्तिहरु वीचको यो प्रतिस्पर्धामा कुन पार्टीले अग्रता कायम गर्नेछ भन्ने मंसीर २१ गते पछि थाहा हुन्छ । यद्यपि विभिन्न कोणबाट चुनावी सरगर्मीको विश्लेषण भने शुरु भईसकेको छ । बाम मोर्चा मिल्दा लोकतान्त्रिक मोर्चालाई हम्मे हम्मे पर्ने देखिन्छ पर्वतमा ।
पर्वत जिल्ला भर (प्रतिनिधि सभाका लागि)
स्थानीय तहको निर्वाचनमा प्रमुख र अध्यक्ष पदमा राजनैतिक दलहरुले प्राप्त गरेको मतलाई हेर्दा बाम मोर्चा अन्य सवै मतभन्दा ५ हजार १४ मतले जिल्ला भर अगाडि देखिन्छ । कुल खसेको मत मध्ये बाम मोर्चाको पर्वतमा ३५ हजार २ सय ८४ मत देखिन्छ । यो मत भन्दा ५ हजार १४ मतले कम मत लोकतान्त्रिक मोर्चाको छ । २९ हजार २२ मत नेपाली कांग्रेसको छ भने अन्य साना दललहरुको मत १ हजार २ सय ४८ मत छ । साना दल सवैको मत नेपाली कांग्रेसमा जोड्दा कुल मत ३० हजार २ सय ७० मत हुन आउँछ । यसरी जिल्ला भर बाम मोर्चाको ठूलो अग्रता देखिन्छ ।

पर्वत क्षेत्र न १ (क) (प्रदेश सभाका लागि)
जिल्लाको निर्वाचन क्षेत्र क यस अघि नेपाली कांग्रेसले ३ पटकसम्म लगातार निर्वाचन जितेको क्षेत्र हो । कांग्रेसका अर्जुन जोशीले ३ पटक निर्वाचन जितेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा दुई वटा तह नेपाली कांग्रेस र १ वटा तह नेकपा एमालेले जितेको थियो । कुल मत मध्ये यस क्षेत्रमा साना दल सहित लोकतान्त्रिक गठनबन्धन हुँदा पनि ३ हजार ४ सय ५ मतले बाम मोर्चा अगाडि देखिन्छ । नेपाली कांग्रेसको कुल मत १५ हजार ५ सय ९९ मत यस क्षेत्रमा खसेको थियो भने साना दलको ७ सय ९० मत थियो । उता बाम मोर्चाको भने १९ हजार ७ सय ९४ मत खसेको थियो । यो मत कायम रहेको खण्डमा झण्डै ३ हजार ४ सय ५ मत बाम मोर्चाको अगाडि देखिन्छ ।

पर्वत क्षेत्र न २ (ख) (प्रदेश सभाका लागि)
क्षेत्र न २ ख अन्तर्गत जिल्लाको दक्षिणी क्षेत्र पर्दछ । यस अघिको दोस्रो संविधान सभाको निर्वाचनमा एमालेले विजयी हासिल गरेको यस क्षेत्रमा पहिलो संविधान सभाको निर्वाचनमा माओवादीले विजयी हासिल गरेको थियो । लगातार दुई पटक बाम पन्थीको विजयी भएको यो क्षेत्र नेपाली कांग्रेसको बलियो क्षेत्र हो । यद्यपि स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले नराम्रोसंग पराजय भोगेको थियो । ४ स्थानीय तह मध्ये ३ स्थानीय तहमा एमालेले जित निकाल्दै १ वटा स्थानीय तह मात्र कांग्रेसको हातमा आएको थियो । क्षेत्रमा पनि बाम मोर्चा कांग्रेस भन्दा बलियो देखिन्छ । पैयू गाउँपालिका बाहेकका सवै स्थानीय तहमा मोर्चा अगाडि छ । पैयूमा भने बाम मोर्चा सवै मिल्दा पनि कांग्रेसको मत भन्दा थोरै मत स्थानीय तहमा प्राप्त भएको थियो । बाम मोर्चाका लागि यो क्षेत्रमा कुल १५ हजार ४ सय ९० मत खसेको थियो भने कांग्रेसको लागि यो क्षेत्रमा १३ हजा ४ सय १३ मत खसेको थियो । साना दलले यो क्षेत्रमा कुल ४ सय ५८ मत प्राप्त गरेका थिए । यसरी साना दलको मत समेत लोकतान्त्रिक मोर्चाको रुपमा कांग्रेससंग जोड्दा कुल १ हजार ६ सय १९ मतले बाम मोर्चा यो क्षेत्रमा अगाडि देखिन्छ ।

सम्भावना र चुनौति
नेपाली कांग्रेसको बलियो मानिने क्षेत्र न २ मा एमालेले विजयी हासिल गर्ने र एमालेको बलियो क्षेत्र मानिने १ नम्बर क्षेत्रमा नेपाली कांग्रेसले यस अघि विजयी हासिल गर्दै आएको अवस्थालाई हेर्दा आगामी निर्वाचनमा पनि स्थानीय तहको मतले निरन्तरता पाउँछ भन्ने ढुक्कता छैन । क्षेत्र न १ संगठन र नेतृत्वको हिसावले एमालेले बलियो दावि गर्दै आएपछि ३ पटक संसदीय निर्वाचनमा एमालेले हार बेहोरेको छ भने स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिका र जलजला नगरपालिकाको नेतृत्व हत्याउन सकेको थिएन । मोदी गाउँपालिकामा मात्र एमालेले जित निकाल्न सकेको थियो । एमालेको यो क्षेत्रमा मोदी पारीका वडाहरुमा जनमत राम्रो छ भने कांग्रेसको जलजला र मोदी वारीका कुश्मा नगरपालिकाका वडाहरुमा कांग्रेसको मत राम्रो छ । यस अघि प्रतिस्पर्धा हुने भनिएको मोदीमा एमालेले उच्च अग्रता कायम गरेको छ । स्थानीय तहको मत मोदीमा दोहोरिएको खण्डमा कांग्रेसलाई क्षेत्र न १ मा जित निकाल्न अप्ठयारो छ । कांग्रेसलाई जित निकाल्न मोदी पारी र मोदी गाउँपालिकालाई केन्द्रियत गर्नुपर्ने देखिन्छ । उता बाम मोर्चाले जलजला गाउँपालिकामा र कुश्मा नगरपालिकाका मोदी वारीका वडाहरुमा मेहनत गर्नुपर्नेछ । मोर्चाले स्थानीय तहको मत जोगाउन मात्रै सकेमा पनि जित निकाल्न भने चुनौति छैन ।
मोर्चालाई सकस– यो क्षेत्र माओवादीको भागमा परेकाले एमाले नेतृत्व र कार्यकर्ता माझ माओवादीको भूमिका, हार्दिकताले जनमत प्रभावित पर्न सक्छ । यो क्षेत्रका एमालेका अगुवाहरुले यस पटक प्रदेशको उमेदवार बन्न नपाएका कारण उनीहरुको निर्वाचनमा खटनले पनि जनमतलाई प्रभावित गर्नसक्ने देखिन्छ । अर्को तर्फ एमालेका सवै मत माओवादीको चिन्ह्मा पार्न मोर्चा असफल हुँदा त्यसको फाइदा कांग्रेसले लिनसक्नेछ ।
अर्को तर्फ, क्षेत्र न २ कांग्रेसको गढ मानिदै आए पनि गढ मानिएका वडाहरुमा एमालेले जितेको छ । यो क्षेत्रमा कांग्रेसले आफ्नो मत संरक्षण गर्न नसकेको आरोप लाग्दै आएको छ । पैयू र विहादी कांग्रेसको बलियो क्षेत्र हुन । महाशिलामा एमाले बलियो छ । फलेवासमा प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि कांग्रेसले कार्यकर्ताको भावना बमोजीमको उमेदवार तय नगर्दा बाम मोर्चाले यस पटक पनि क्षेत्र न २ मा धावा बोल्न सक्छ । स्थानीय तहहरुमा कमजोर देखिएको कांग्रेसले महाशिलामा मेहनत गर्न पर्ने छ भने फलेवासमा आफ्नो मत जोगाउनुपर्ने देखिन्छ । पैयूमा बलिया कांग्रेस विहादीमा पनि कसरतमा लाग्नुपर्नेछ । बाम मोर्चालाई भने पैयू र विहादीमा मेहनत गरेमा जित सहज हुने देखिन्छ । फलेवास नगरपालिकामा स्थानीय तहको मतलाई भने निरन्तरता दिनुपर्नेछ । लगातार दुई पटक कम्युनिष्टहरुले संसदीय निर्वाचन जितेको क्षेत्रलाई तेस्रो पटक पनि कायम गर्न स्थानीय निर्वाचनको मतलाई हेर्दा भने ठूलो चुनौति देखिदैन ।
कांग्रेसलाई चुनौति – जिल्लाका कांग्रेस गढहरु भएका वडाहरुमा पनि आफ्नो मतलाई संरक्षण नगर्दा कांग्रेस यो क्षेत्रमा कमजोर हुँदै गएको छ । कुशल नेतृत्व र सांगठनीक संरचना कमजोर हुनु र अन्तर पार्टी संघर्षमा कांग्रेसले ध्यान दिईरहदा यो क्षेत्रमा कांग्रेसले साख गुमाउँदै गएको छ । त्यसको फाइदा यस पटक पनि बाम मोर्चाले सहज रुपमा लिन सकेमा प्रदेश मात्र होइन प्रतिनिधि सभामा समेत कांग्रेस अझै कमजोर बन्ने देखिन्छ ।
मत संख्याको श्रोत : जिल्ला निर्वाचन कार्यालय, पर्वत




