आश्विन १४ । सिद्दार्थ राजमार्ग अन्तर्गत तानसेन–वुटवल सडक खण्डको तिनाउ गाउँपालिका, २ दोभान र सिद्धबाबाको बीच विद्युत् हेडबक्समाथि ढुंगा सहितको ठूलो पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
शुक्रबार बेलुकी परेको वर्षासंगै दोभान प्रहरी चौकीदेखि ५ मिटर अगाडी राजमार्गमा ठूलो पहिरो खसेको छ । स्थानीय विष्णुप्रसाद पाण्डेका अनुसार राती साढे १० बजेतिर राजमार्गमा ठूलो पहिरो खसेपछि सवारी साधन ठप्प भएको छ । शनिबार बिहानैदेखि सडक डिभिजनले पहिरो पन्छाउन काम गरेको प्रहरीले जनाएको छ ।
दोभानदेखि सिद्दबाबा क्षेत्रमा पानी पर्दा र घाम लाग्दा पनि दिनहुँ खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको छ । सिद्दार्थ राजमार्ग अवरुद्ध हुँदा दसैंकालागि बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् । यात्रुहरु समयमा गन्तव्यमा पुग्न नसक्ने भएपछि आक्रोसित छन् । पहाडबाट ढुंगा खस्ने भएकोले यात्रुहरु पैदल समेत हिड्न सक्ने अवस्था नभएको दोभान प्रहरी चौकीले जनाएको छ । यही क्षेत्रमा केही दिनअघि कार र ट्रक पुरिने गरी पहिरो खसेको थियो ।




