१२ असोज, पर्वत । वडादशैँको शुभकामना आदानप्रदान सहित नेपाली काँग्रेस पर्वतले गाउँ जागरण अभियान चलाएको छ । एक हप्तादेखि नै शुभकामना आदानप्रदान सहित गाउँ गाउँमा विभिन्न कार्यक्रमहरु भैरहेका छन् । आसन्न प्रदेशसभा र संघीय संसदको निर्वाचन केन्द्रित गरि नेपाली काँग्रेसले क्षेत्र नम्बर २ का एक दर्जन साविकका गाविसमा सभा र शुभकामना आदानप्रदान कार्यक्रम भैरहेका छन् । देविस्थान, पाङराङ, वाच्छा, रानीपानी, हुवास, भोर्ले, सरौँखोला, लुँखु, शंकरपोखरी, खानीगाउँ, कुर्घा, मुडिकुवा लगायतका साविकका गाविसमा गाउँ जागरण अभियान अन्तर्गत सभा र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको क्षेत्रीय सचिव सुमन तिवारीले जानकारी दिए ।
पर्वतको फलेवास नगरपालिका ५ खानीगाउ र १० कुर्घामा वुधवार नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आसन्न प्रदेश र संघको निर्वाचनको वारेमा अन्तरक्रिया कार्यक्रम पनि गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं साँसद अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेसले जनताका लागि गरेका कामको प्रचार गर्न नसकेर पराजित हुनपरेको वताए ।
काँग्रेसले देशमा संविधान निर्माण गरेको, २००७ सालको आन्दोलन देखि २०६२ सालको आन्दोलनवाट अहिलेका उपलब्धी हासिल गरेको, माओबादीलाई शान्तिप्रक्रियामा ल्याउने देखि देशमा विकास निर्माणका योजना ल्याउँदै आएको, संविधान निर्माणको नेतृत्व गरेको, अन्तराष्ट्रिय सम्वन्ध सन्तुलनमा राखेको, अहिलेको स्थानीय निर्वाचन सम्पन्न गरेको भएपनि जनतामा यसको प्रचार सहि किसिमले हुन नसकेको वताए ।
अरु पार्टिको जस्तो झुठो प्रचारमा लाग्न नजान्ने, काम गर्ने जस लिन नखोज्ने कारण पछि परेको जोशीले वताए । आसन्न चुनावहरु काँग्रेसले वहुमतका साथ जित्ने उद्घाष गर्दै नेता जोशीले त्यसका लागि नेताहरुमा इमान्दारिता, कार्यकर्तामा जाँगर र मतदाताहरुमा विश्वास वढाउनुपर्ने उल्लेख गरेका छन् ।
काँग्रेस एकढिक्का नहुँदा त्यसको फाईदा अरु पार्टिले लिएको तितो यथार्थ रहेको चर्चा गर्दै जोशीले हामी नमिल्दा अरुले फाईदा लिए त्यसले इमान्दार कार्यकर्ताहरुलाई चोट पुग्यो उनले वताएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले पर्वत जिल्लामा काँग्रेसले आगामी चुनावमा दुबै क्षेत्र जितेर देखाईदिने वताए । काँग्रेसमा व्याक्तिवादी सोच आउन हुँदैन भन्दै तिवारीले चुनावमा आफु उठेपनि वा अरु जो उठेपनि सहयोग गर्नुपर्ने र पूर्णरुपमा सहयोग गर्न आफु तयार रहेको तिवारीले जनाए ।
उक्त अवसरमा नेपाली काँग्रेसका पुर्व सभापति नवराज गुरुङ, नेपाली काँग्रेस पर्वतका सचिव विश्वप्रकास प्रसाईं,पैयुगाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, पुर्व महासमिति सदस्य गिरिराज गौतम,महाधिवेशन प्रतिनिधि राजेन्द्रप्रसाद तिवारी, पूर्व महाधिबेशन प्रतिनिधी रेखा गुरुङ, नेपाली काँग्रेस पर्वतका सदस्य माया पाठक, अर्का जिल्ला सदस्य मानवहादुर भुसाल क्षेत्री, नेपाल पत्रकार महासघ पर्वतका अध्यक्ष छविलाल तिवारी, पत्रकार महासघ पर्वतका सदस्य साजन परियार नेपाली कांग्रेस फलेवास नगरपालिका –५ का वडा कार्य समिति खानीगाउँ वडा सभापति हिरामणि सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सन्चालन सचिव भिमवहादुर क्षेत्री लम्सालले गरेका थिए ।
कुर्घा र खानीगाउँमा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौडेल, हिमाङक भन्डारी, नेपाल विद्यार्थी संघ पर्वतका निवर्तमान उपाध्यक्ष रामचन्द्र पौडेल( आर. सि), जनप्रशासन क्याम्पसका स्ववियु सभापति पंकज क्षेत्री सुवेदी,नेपाल विद्यार्थी संघ पर्वतका जिल्ला सदस्य सुनिल शर्मा, किसान थापा,नेपाल विद्यार्थी संघ त्रिविका सचिव सन्तोष चपागाई, लगायतका ब्यातिmहरुले वोलेका थिए । नेपाली कांग्रेस फलेवास नगरपालिका १० का वडा सभापति अमरवहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य कृयाशिल सदस्य मेघराज शर्मा लम्साल र कार्यक्रमको सन्चालन सचिव दाताराम लम्सालले गरेका थिए ।




