Print

समाचार प्रभाव : युवतीको उपचारमा अमेरिकाबाट हेमन मल्लले सहयोग गरे

३१ भदौ, पर्वत । पर्वत न्यूज डटकम लगाएतका सञ्चार माध्यममा समाचार आएपछि अमेरिका बस्दै आएका एक नेपालीले उपचारमा समस्या भएकी दृष्टिविहिन युवतीलाई सहयोग गरेका छन । पर्वतको एक मात्र दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत लैला खातुनको उपचारमा आर्थिक अभावका कारण समस्या भएको छ ।

दृष्टिविहिन स्रोत कक्षा अन्तर्गत कुश्माको शिवालय मावि कक्षा १२ मा अध्ययनरत लैला खातुनको मृगौला र पित्तथैलीमा पत्थरी देखिएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार सार्वजनिक भएपछि अमेरिकामा बस्दै आएका हेमन मल्लले १० हजार १ सय ७० रुपैंया सहयोग गरेका हुन । मल्ल जिल्लाको मोदी गाउँपालिकाका बासिन्दा हुन ।

पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण अस्पतालले १० हजार धरौटी रकम मात्रै माग गर्दा पनि उपलब्ध गराउन नसक्दा उनको उपचार हुन सकेको छैन । पिडित दृष्टिविहिन युवती खातुन अस्पतालको बेडमा छटपटाइरहँदा उनका बाबु मोहम्मद अब्दुर रहमन दाताको खोजिका लागि विभिन्न स्थानमा धाउन बाध्य भएका छन् । ‘सम्पत्तिका नाममा एक टुक्रा जग्गा पनि छैन’ उनले भने ‘छोरीलाई १० हजार रुपैँया जुटाउन सकेपनि धेरै सहयोग हुने थियो’ उनले छोरी लैलाको लागि अस्पतालले समेत रकम छुट गरेर १० हजार मात्रै माग्दा पनि आफुले उपलब्ध गराउन नसकेको दुखेसो गरे ।

२० बर्षिय दृष्टिविहिन युवती लैलाले शिवालयमा कक्षा १२ मा पढ्दै आएकी छिन् । उनी अध्ययनरत विद्यालयका दृष्टिविहिन शिक्षक हरिप्रसाद शर्माले समेत लैलाको जीवन रक्षाका लागि आफु सक्दो सहयोग प्रदान गर्न सहयोग दाता समक्ष आग्रह गरेका छन् ।
मल्ले अमेरिकाबाट पत्रकार सन्तोष थापा मार्फत उक्त सहयोग रकम हस्तान्तरण गर्ने गरी रकम नेपाल पठाई सकेका छन । पत्रकार थापाले असोज १ गते नै उक्त रकम अभिभावकालाई प्रदान गर्नेछन ।