२९ भदौ, पर्वत । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवम् विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ्गस्थित महभिर झरनामा संचालन हुने भएको छ ।
जिल्लाकै मनोरम खोला र बाह«ैमास एकैकिसिमले बगिरहने उक्त खोलामा क्यानोनिङ संचालन गर्ने तयारी गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै धौलागिरिमै पहिलोपटक क्यानोनिङको तयारी गरिएको संचालक उद्धिमबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
क्यानोनिङ्गका लागि उक्त खोलामा सम्भाव्यता अध्ययन भैसकेको र दशै लगत्तै संचालनमा ल्याउने तयारी गरिएको उहाँले बताउनुभयो । पर्वत सदरमुकाम कुश्माबजारबाट झण्डै ७ किलोमिटरको दुरिमा अवस्थित उक्त स्थानमा गुरुङ्ग बस्तीको बाहुल्यता रहेको छ । स्थानिय चनौटेमा होमस्टे विस्तार र महभिर खोलामा क्यानोनिङ एकैपटक शुरु गरिने गुरुङले जानकारी दिनुभयो । उक्त स्थानसम्म पुग्नका लागि ग्राभेलिङ्ग सडकको व्यवस्था रहेको छ । कुश्माबजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय शहर पोखराबाट समेत साढे २ घण्टाको दुरीमा उक्त स्थानमा पुग्न सकिने भएकाले आन्तरियक तथा बाह्य पर्यटकहरुको आकर्षण बढ्ने गुरुङ्गको विश्वास रहेको छ ।
एकीकृत सामुदायिक विकास केन्द्रद्धारा संचालनमा ल्याईने क्यानोनिङमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई व्यवस्थापन, पूर्वाधार निर्माण तथा अन्य विविध तयारीहरुमा लागेको स्थानिय राजन गुरुङ्गले जानकारी दिए । उनका अनुसार जिल्लाको समग्र पर्यटन क्षेत्रको विकासका लागि उक्त क्यानोनिङ्गको महत्वपुर्ण योगदान रहने विश्वास लिएका छौ ।
नेपालका लमजुङ, कास्की, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ संचालन हुँदै आएकोमा साविक धौलागिरि अञ्चलमा पहिलोपटक उक्त क्यानोनिङ्गको तयारी भएको संचालक गोलमान गुरुङ्गले जानकारी दिए । उनका अनुसार पर्वत हुँदै हिमालपारीको जिल्ला मुस्ताङ, म्याग्दी, राउण्ड अन्नपुर्ण तथा धौलागिरि जाने पर्यटकहरुलाई पनि उक्त क्यानोनिङ सम्म लैजान सकिने र एक दिन उक्त स्थानमा राखेर अर्को दिन गन्तव्यतर्फ पठाउनेगरी तयारी भैरहेको समेत गुरुङ्गले जानकारी दिए । अहिलेसम्म नेपालमा वार्षिकरुपमा स्वदेशी तथा विदेशी गरी करिब १० हजारले क्यानोनिङ गर्दै आएकोमा उक्त झरनामा पनि बार्षिक एक हजार सम्म पर्यटकलाई भित्र्याउन सकिने संचालक समितिको विश्वास रहेको छ ।




