२७ भदौ, पर्वत । दोस्रो संविधान सभाको निर्वाचनबाट निर्वाचित सभासदहरु संविधान जारी भएपछि अहिले सांसदको भूमिकामा छन । ६ सय २ जनालाई दोस्रो संविधान सभाबाट जनताले प्रत्यक्ष र समानुपातिक मतदान मार्फत निर्वाचित गरेका हुन । ति मध्ये पर्वतले ३ जना सांसद पायो । दुई जना प्रत्यक्ष निर्वाचित सांसद र एक जना समानुपातिक । तीन जना मध्ये एमालेले २ र कांग्रेसले १ सांसद पर्वतबाट प्रतिनिधित्व गरायो । संविधान जारी भएसंगै आगामी मंसीर २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । संविधान कार्यान्वयनका लागि हुने यो निर्वाचन आउन अव करिब ३ महिना मात्रै छ । योसंगै देशभरका सवै सांसदहरु अवको ३९ दिन पछि पूर्व सांसद बन्दैछन । यो परिवेशमा जिल्लामा रहेका ३ जना सांसदहरुले यो अवधिमा गरेका कर्महरुको समिक्षा हुन थालेको छ ।
जिल्लाको क्षेत्र न २ बाट निर्वाचित सांसद विकास लम्साल एमालेको तर्फबाट प्रत्यक्ष निर्वाचनमा निर्वाचीत भएका हुन । एमालेको जिल्ला अध्यक्षको पदमा बहाल रहँदै गर्दा उनी पार्टीको तर्फबाट दोस्रो संविधान सभाको निर्वाचनमा निर्वाचित भए । निर्वाचित भएको करिब ४ बर्षको अवधिमा लम्साल केहि आशावादी र धेरै असफल योजनाका बहाक बनेका छन । असफल पाढापाढी पाल्ने अभियानका कारण कटु आलोचना भोग्न बाध्य भएका लम्साल यो अवधिमा पत्रकारिता विरोधी र सञ्चार क्षेत्रको उपेक्षा गर्ने नेताको छवि बनाउन सफल भएका छन । औपचारिक कार्यक्रमहरुमा सञ्चार क्षेत्रलाई खुलेर चुनौति दिने देखि आफू सधै विकास प्रेमी नेता भएको आफै उद्घोष गर्दै आएका छन । उनले आफ्नो संयोजकत्वमा बाँडफाँड गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अधिकांश रकम कच्चि सडकको ट्रयाक्क खोल्नमा प्रयोग गरे । खोलिएका सवै ट्रयाक कार्याकर्ता पाल्ने अभिप्रायका साथ भएको र ति सडक विना प्राविधिक परामर्शमा खनिएको भन्दै उनको निर्वाचन क्षेत्रका जनताहरुले नै आरोप लगाउँदै आएका छन । शुरुवाती समयमा शिक्षा क्षेत्रको विकासमा निकै आशालाग्दा कदमहरु चालेका लम्साल अन्ततः टुक्रे योजनाहरु मार्फत आफ्नो छवि कार्यकर्ता माझ जोगाउने धन्दामा लागे । कार्किनेटा देखि कुश्मा जोड्ने सडकको रुट नै परिर्वतन गरेको आरोप खेपेका लम्साल यो आरोपका कारण ठूलिपोखरी, खौला, पकुवा, पिपलटारी र आर्थर क्षेत्रमा निकै आलोचित बने । क्षेत्रीयताबादी विकास योजनाहरु अगाडि बढाएको आरोप लागेका लम्सालले सडक डिभिजन कार्यालयले शुरु गरेको दोविल्ला फलेवास कालोपत्रे, ग्रामीण पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजनाको सहयोगमा शुरु भएको मुडिकुवा झकलक सडकको कालोपत्रे र प्रवासीहरुको सहयोगमा प्राप्त एम्बुलेन्स आफ्नो प्रयासबाट भएको बताउँदै आएका छन ।
नेकपा एमाले पर्वत भित्र युवा पुस्ताका नेताहरुको लिस्टमा लम्साल प्रति युवाहरु क्रेज छ । दमदार भाषण, माओवादीको आक्रमणमा घाइते र जनआन्दोलनको सक्रियताका कारण उनी जिल्लामा स्थापीत नेता बन्न सफल भएका हुन । क्षेत्रीय र भौगोलिक रुपमा क्षेत्र न २ विकासको गतिमा पछाडी नै छ । उनी प्रति क्षेत्र न २ का कार्यकर्ताहरु ठूलो भरोसा भने अझै पनि छ । क्षेत्र न २ मा विकासको मूल फुटाउन सकिन्छ भन्ने आभाष दिलाउन उनले अगाडि ल्याएका कृषि क्षेत्रका विकासका योजनाहरु भने खाली मौखिक मात्रै बने । पशुपालक कृषकलाई प्रोत्साहन दिने उनका योजनाहरु महत्वकाक्षी भए ।
उता, क्षेत्र न १ बाट दोस्रो संविधान सभाको निर्वाचनमा निर्वाचित सांसद अर्जुन जोशी पर्वतबाट तेस्रो पटक निर्वाचित भएका हुन । उनको दुई पटकको अनुभवले जिल्लामा विकासका ठूला आयोजनाहरु आउने पर्वतबासीको चाहनामा भने उनले कुठाराघात नै गरे । चुनावमुखी टुक्रे योजनाहरु चाङ लगाउन सिपालु जोशी सधै कार्यकर्ताको मनोभावना बमोजीमका योजनाहरु सञ्चालन गर्न यो अवधिमा ब्यस्त रहे । केहि गठन नभएका क्लब र महिला समूहहरुका नाउँमा बजेट विनियोजन गरेको आरोप लागेका उनले सञ्चार क्षेत्रमा बर्षेनी बजेट विनियोजन गरेर सञ्चार क्षेत्रमा आफ्नो सक्रियता रहेको देखाउन खोजे । विशेषगरी जनजाति समुदायमा लोकप्रिय बन्न बढि जसो योजनाहरु जिल्लाका माथिल्लो क्षेत्रमा विनियोजन गर्ने गरेको आरोप लागेका जोशीले जिल्लामा ठूला आयोजनाहरुमा अगुवाइ नगरेको आरोप यस पटक पनि दोहोरियो । तार, जाली र पाइप वितरणमा निकै चाख राख्ने जोशीले यस पटक पनि चुनावमुखी तार, जाली धेरै बाँडेको आरोप खेपे । ठूला र महत्वकाक्षी योजनाहरु अगाडि नसार्ने नेताको पदवी भिरेका जोशी संस्कृति र नाँचगाँनको क्षेत्रमा रुचि राख्ने नेताको रुपमा परिचित बन्ने अवसर यसपटक पनि उनले गुमाएनन ।
नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जोशी जिल्लामा नेपाली कांग्रेसको लामो समय नेतृत्व गरेका नेता पनि हुन । पार्टी भित्र मात्र नभई अर्को पार्टीका कार्यकर्ताहरु माझ पनि सधै प्रिय बन्न रुचाउने जोशीले यस पटक क्षेत्र न २ मा समेत आफ्नो उपस्थिती देखाउनका लागि राम्रै कसरत गरे । गाउँघरमा आयोजना हुने साना देखि जिल्लाका सवै खालका ठूला कार्यक्रमहरुमा सक्रियता देखाउने जोशीले जिल्लामा बनेका सवै सडक र गाँडिएका विजुलीका पोलहरु आफनो अगुवाईमा भएको भन्दै त्यसको जस लिन खोजेपनि देखिने गरी सफल बनाएर छाडेका योजनाहरुको खोजी जिल्लामा सधै भईरहेको छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुका माझ एक मात्र आशा र भरोसाका केन्द्र भाग बन्न सफल जोशी प्रति कार्यकर्ताहरुको निकै ठूलो लगाव कायमै छ ।
नेकपा एमालेको तर्फबाट समानुपातिक कोटाबाट सभासद बनेकी कल्पना चापागाई महिला मात्र नभएर फरक क्षमता कि सासंद हुन । पर्वत जिल्लामा लामो समय कम्युनिष्ट आन्दोलन मार्फत सक्रिय बनेकी उनी समानुपातिक क्षेत्रबाट सांसद बनेपनि पार्टी राजनीतिबाट उनी यो अवधिमा निकै टाढा रहेको अनुभूति सवैले गरे । जिल्लाकै एक सामुदायिक रेडियोको अध्यक्ष समेत भएकाले उनले आफ्नो कार्यकाल भरी पार्टीको राजनीतिमा भन्दा रेडियोको ब्यवस्थापनलाई ध्यान दिएको आरोप लाग्यो । उनले अरु दुई सांसदले जति रकम बाँडफाँडको प्रमुख जिम्मेवारी नपाएपनि आफ्नो नेतृत्वमा बाँडफाँड गर्ने रकममा सञ्चार केन्द्रित विनियोजन प्रणाली रहेको उनले आरोप खेपिन । सञ्चार क्षेत्र, महोत्सव सञ्चालन र निकै साना र टुक्रे योजनाहरुमा रकम विनियोजन गरेकी सांसद चापागाईलाई वस्ती स्तरमा महिला दिदिवहिनीहरुको भने निकै ठूलो श्रद्धा यो अवधिमा रह्यो । सांसद भएदेखि नै पार्टीका नेताहरुबाट आलोचनाको सामाना खेपेकी चापागाई पार्टी प्रति भन्दा विरोधी पार्टी प्रति उदार रहेको आरोप लाग्यो । आफू सवैको साझा सांसद रहेको प्रमाणीत गर्न उनले योजनाहरुको विनियोजन प्रक्रियामा मध्यमार्ग बाटो अपनाईन । प्रतिपक्षी कांग्रेससंग सुमधुर सम्बन्ध बनाउन सफल उनलाई पार्टी कार्यकर्ताहरुले चर्को आलोचना गरीरहे ।
जिल्लामा मात्र नभइ राष्ट्रिय स्तरमा फरक क्षमताकी एक महिला सांसद बनेर आफ्नो जिम्मेवारीलाई निष्ठताका साथ निभाउनु भने चापागाईको निकै ठूलो सफलताको रुपमा आम जनताले यो अवधिमा हेरे । महिला शसक्तिकरणमा नयाँ आयाम थप्न उनले आयोजना गर्ने प्रदेश स्तरीय महोत्सव र महिलाको सार्थक प्रयासमा सञ्चालनमा आएको रेडियोको कारण उनको साख भने सधै उच्च नै रह्यो ।
तीन जनै अनुहार आगामी निर्वाचनमा फेरी उमेदवारको दावेदार रहने प्रायः निश्चित छ । ४ बर्षे कार्यकालमा पर्वत र पर्वतबासीका लागि उनीहरुले गरेको त्याग, समर्पण र योगदानको कदर आगामी दिनमा पर्वतबासीले भने गर्नेनै छन । बस अहिले हामी यत्ति भन्न सक्छौ आम पर्वतबासीले खोजे अनुरुपको विकास योजनामा तीन जनै सांसदहरु असफल प्रायः भने बने नै । (समाचार विश्लेषण)




