१९ भदौ, पर्वत । जिल्लामा रहेका सञ्चारगृहका सञ्चालकहरुले राज्यले प्रदान गर्दै आइरहेको लोकल्याणकारी विज्ञापनको दर दोब्बर गराउन माग गरेका छन । नेपाल पत्रकार महासंघ पर्वतको समन्वयमा बसेको मिडिया सञ्चालकहरुको भेलाले मूल्यबृद्धिको र न्यूनतम पारिश्रमिक निर्धारण आयोगको प्रतिवेदन कार्यान्वयनका लागि पनि लोककल्याणकारी विज्ञापनको रकममा बृद्धि गर्न माग गरेको हो ।
जिल्लामा सञ्चालीत दैनिक पत्रिका, साप्ताहिक पत्रिका, रेडियो र त्रैमासिक पत्रिका सञ्चालकहरुको भेलाले सरकारसंग यस्तो माग राखेको पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीले जानकारी दिए । गिरीका अनुसार मिडियाको सबलीकरण र प्रवद्र्धन गर्नु राज्यको पनि दायित्व रहेको भन्दै सञ्चालकहरुले समयअनुसारको मूल्यबृद्धिसंगै विज्ञापन दरमा पनि बृद्धि गर्न माग गरेका हुन । जिल्लामा अनलाइन बाहेक २२ वटा छापा र विद्यृतिय सञ्चार माध्यमहरु सञ्चालन छन भने केहि विद्युतिय सञ्चार माध्यमहरु थप हुँदैछन ।
मिडिया सञ्चालकहरुको भेलाले जिल्लामा यस अघिको एकद्धार विज्ञापन नीतिलाई समेत निरन्तरता दिने निर्णय गरेको सचिव गिरीले जानकारी दिए । पत्रकार महासंघको समन्वयमा ब्यवस्थापन हुँदै आएको विज्ञापन र मिडिया सबलीकरण वापतको बास्केटफण्डलाई नयाँ संरचनाका कार्यालयहरुबाट पनि निरन्तरता दिने निर्णय भएको हो ।
हाल जिल्लामा ७ वटा स्थानीय तहहरु छन । ति स्थानीय तहहरुबाट जारी हुने सवै खालका विज्ञापन, सुचनाहरुको रकमलाई एकिकृत गरी सवै सञ्चार माध्यमलाई समानुपातिक वितरण जिल्लामा विगतका बर्षहरु देखि हुँदै आएको छ ।
पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका मोदीकाली साप्ताहिकका सम्पादक ओमप्रसाद घायलले मिडिया सबलीकरणको दायित्व स्थानीय सरकारहरुको पनि हुने भएकाले विज्ञापन उपलब्ध गराउने बाहेकका शीर्षकबाट पनि मिडियाको सबलीकरणमा ध्यान दिनुपर्ने बताए । यस अघि पनि पत्रकार महासंघको संयोजनमा मिडियाको सबलीकरणमा स्थानीय निकायहरुको ध्यानाकर्षण हुँदै आएको छ ।




