१४ साउन, पर्वत । जिल्लाको मोदीगाउँपालिका वडा न २ देउपुरका वेदप्रसाद तिमिल्सीनाले गाई फार्मबाटै मासिक १ लाख २० हजारसम्म आम्दानी गर्छन । स्नातक तह उर्तिण उनी विद्यालयको शिक्षण पेशा छाडेर गाईफार्म सञ्चालनमा लागेका हुन ।
नीजि विद्यालयमा गणित र विज्ञान विषय अध्यापन गराउँदै आएका ३२ बर्षिया तिमिल्सीनाले आधुनिक गाई फार्म सञ्चालन गरेपछि मासिक लाखौं आम्दानी गर्न सफल भएका हुन । तिमिल्सीना भन्छन –‘स्कूलमा मासिक १५ हजार तलब थियो ।’ विद्यालयको मासिक १५ हजार तलब छाडेका उनले अहिले लाख आम्दानी गर्न सफल भएका हुन । उनी भन्छन–‘आम्दानी भन्दा ठूलो सन्तुष्टि रैछ ।’ झण्डै ३० रोपनी क्षेत्रफलमा घाँस खेती गरेका उनले सिजनमा १ लाख २० हजार र अफसिजनमा ६० हजार न्यूनतम आम्दानी गर्दै आएका छन ।
फार्ममा २४ वटा उन्नत जातका गाईहरु रहेका छन । गाईहरुबाट उत्पादन हुने दुध स्थानीय पातिचौर र डिमुवा बजामा उनले विक्री गर्दै आइरहेका छन । आधुनिक प्रविधियुक्त गोठ ब्यवस्थापन गरी पशुपालनमा लागेका तिमिल्सीनालाई नेपाल सरकारको समेत सहयोग प्राप्त भएको छ । प्रगति उन्नत गाईफार्म सञ्चालक तिमिल्सीनाले कूल १७ लाखको लगानीमा उक्त फार्म सञ्चालनमा ल्याएका छन । उनको फार्मलाई नेपाल सरकारको ब्यवसायीक कृषि तथा ब्यापार आयोजनाले १० लाख रकम बराबरको आर्थिक सहयोग गरेको छ । जुन सहयोगले उनले फार्ममा भौतिक संरचनाहरु निर्माण गर्न सफल भएका छन ।
बार्षिक ४५ हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य सहित शुरुवात गरेको उक्त फार्ममा अहिले दैनिक १ सय २० लिटरसम्म दुध सिजनमा उत्पादन हुने गर्छ । तिमिल्सीना स्वय्म र उनी श्रीमती सहित १ जना कामदारले फार्मममा रोजगार पाएका छन । उनले मासिक आम्दानीको हिसाव गर्दा आफ्नो श्रमको मूल्य समेत घटाएका छन । फार्मको सञ्चालनमा परिवारको साथ पाएका कारण आफू सफल भएको उनको भनाई छ ।
शिक्षित ब्यक्तिहरु कृषि कार्यमा लाग्नु हुन्न भन्ने नेपालीको मानसिकता कारण वेरोजगारीको संख्या बढेको बताउने तिमिल्सीनाले जागिर भन्दा स्वःरोजगारमा सन्तुष्टि फेला पारेका छन । पशु फार्मबाट निस्कने गाईको गहुँतबाट तरकारीखेतीको समेत सोँच बनाएका तिमिल्सीनाले लगाएका घाँसबाट पशुको आहार पुरा भएको छ । ब्यवस्थित गोठ र सन्तुलीत आहाराका कारण दुध उत्पादनमा बृद्धि भएको बताउने तिमिल्सीनाले फार्मलाई विस्तार गर्ने गरी योजना समेत बनाएकाछन । अर्थ वीट साप्ताहिकबाट




