३ साउन, पर्वत । नारायण पौडेलको मृत्युको कारण नखुलेपछि पर्वत प्रहरीले अनुसन्धानको मिसिल बागलुङ पठाएको छ । झण्डै दुई हप्तासम्म अनुसन्धान प्रक्रियामा रहेको पौडेलको मिसिल पर्वत प्रहरीले बागलुङ प्रहरीलाई बुझाएको छ । अनुसन्धानबाट हत्याको विषयमा कुनै प्रमाण फेला नपरेपछि पर्वत प्रहरीले केन्द्रिय अनुसन्धान ब्यूरोलाई अनुसन्धानमा सहयोगको लागि अनुरोध गरेको थियो । केन्द्रिय अनुसन्धान ब्यूरोले मिसिलको अध्ययन गर्दा हत्या सम्बन्धि कुनै तथ्य फेला पार्न सकेन । अनुसन्धान प्रक्रिया थप जटिल भएपछि पर्वत प्रहरीले कानूनी प्रावधानलाई उल्लेख गर्दै मिसिल जिल्ला प्रहरी कार्यालय बागलु्ङमा पठाएको हो ।
पौडेलको शव बागलुङ जिल्लाको कालीगण्डकी नदी स्थित जैमुनी नगरपालिका ८ वेलबगरमा भेटिएकाले घटनास्थल रहेको जिल्लामा अनुसन्धान गर्नुपर्ने कानूनी प्रावधान देखाउदै प्रहरीले मिसिल बागलुङ पठाएको हो । घटनास्थल रहेको जिल्लाले अनुसन्धान गर्नुपर्ने कानूनी प्रावधान थाहा हुँदा हुँदै पनि पर्वत प्रहरीले लामो समय अनुसन्धान प्रक्रिया अगाडि बढाउनु र अनुसन्धानबाट प्रमाण फेला नपारेपछि मिसिल बागलुङ पठाउनुलाई अनुसन्धान नै शंकाको घेरामा रहेको एक कानून ब्यवसायी बताउँछन । प्रमाणविना लामो समय आरोपिहरुलाई नियन्त्रणमा लिने र प्रमाण फेला पार्न नसकेपछि कानूनी प्रावधान देखाउदै फाइल बागलुङ हस्तान्तरण गर्नु पर्वत प्रहरीको असफलता भएको ति ब्यवसायीको आरोप छ ।
उता, पौडेलका परिवारले भने छिटो भन्दा छिटो सत्य तथ्य बाहिर ल्याउन बारम्बार माग गरिरहेका छन । नीजि विद्यालयमा अध्यापनरत २१ बर्षिया पौडेलको मृत्यु थप रहस्यमय बन्दै गएको छ । विद्यालयका प्रिन्सिपल सहितका अभिभावक माथि प्रहरीले अनुसन्धान गरीरहेको छ । उता, विद्यालय र प्रिन्सिपलका परिवारले भने पौडेल वेपत्ता भएको दिन, दिनभर नै विद्यालयमा रहेका प्रिन्सिपल विमल पौडेललाई प्रहरीले विना प्रमाण नै लामो समय नियन्त्रणमा लिएको भन्दै सत्य तत्थ प्रमाण सहित प्रहरीले छिटो भन्दा छिटो घटनाको विवरण सार्वजनिक गर्नुपर्ने बताउँदै आएका छन ।
एता, पर्वत प्रहरीले भने शव भेटिएको स्थान बागलुङ जिल्ला भएकाले घटना पनि सोहि स्थानमा भएको हुनसक्ने निश्कर्ष निकालेको छ । प्रहरी नायव उपरिक्षक शेखर खनालले वागलुङ जिल्लामा नै घटना घटेको अनुमानका आधारमा मिसिल बागलुङ पठाएको बताउँछन । घटनामा हत्याको कुनै प्रणामहरु फेला नपरेपछि अनुसन्धानको दोषमुक्त हुन मिसिल प्रहरीले बागलुङ पठाएको प्रहरी श्रोत नै बताउँछ । मृतक पौडेलसंग फोनमा अन्तिमपटक कुराकानी भएका आधारमा पौडेलले अध्यापन गराउने विद्यालयको प्रिन्सिपल पौडेल र अभिभावकहरु देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक पौडेल गत जेठ २५ गतेदेखि परिवारको सम्पर्कमा थिएनन । २५ गते नै उनीसंग भएको अन्तिम फोनको झण्डै ३ घण्टा पछि उनको मोवाइल समेत सम्पर्कमा थिएन । वेपत्ता भएको झण्डै ढेड हप्तामा उनको शव कालीगण्डकी नदीको किनारमा फेला परेको थियो ।
प्रहरी श्रोत भन्छ–‘यदि हत्या नै भएको भए, कुनै न कुनै प्रमाण फेला परथ्यो ।’ ‘मृत्युको कारण हत्या नै हो भने, त्यो लामो समयसम्मको योजना थियो’ प्रहरी श्रोत भन्छ–‘विद्यार्थी कुटपिटकै कारण मात्र मृत्युको कारण नहुन सक्छ ।’
२४ गते विद्यालयमा कुटपिट भएपछि उनी २५ गते दिउँसो देखि सम्पर्कमा छैनन । कुटपिटकै कारण हत्या भएको भए २४ घण्टा नपुग्दै हत्या गर्दा कुनै न कुनै प्रमाण फेला पर्ने थियो । प्रहरी श्रोत भन्छ–‘पुरानो रिसिबि वा अन्य कारणको विषयमा अनुसन्धान अगाडि बढेको छ ।’ अन्य कारणको खोजी गरेर अनुसन्धान गरेपनि अनुसन्धान भने सफल नभएको प्रहरी श्रोत नै बताउँछ ।




