५ साउन, पर्वत । विगत दुई सातादेखि घरबाटै वेपत्ता भएका कृषि विकास बैंक कुश्मा शाखामा कार्यरत कर्मचारीको अवस्था अझै अज्ञात रहेको छ । पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवाका दिपेन्द्रशर्मा गौडेल असार २२ गते बिहीवारदेखि वेपत्ता हुनुभएको हो । असार २१ गते साँझ कार्यालयवाट घर फर्किएर खाना खाएर सुतेका गौडेल विहीवार विहान ४ बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ ।
लामो समयदेखि बैंकमा कार्यरत गौडेल वेपत्ता भएपछि खोजी कार्यलाई तिब्रता दिइएको भएपनि अझै कुनै पत्तो नलागेको स्थानिय युवनाथ गौडेलले जानकारी दिनुभयो । बैंकमा लेखपाल पदमा कार्यरत उनि सम्पर्क बिहीन हुनुको कारण समेत अझै पत्ता लागेको छैन । जिल्ला प्रहरी कार्यालय पर्वतले वेपत्ता गौडेलको नाम, वतन र हुलियासहित खोजीकार्यलाई तिब्रता दिएको पनि कतैवाट पनि केहि जानकारी नआएको जनाएको छ । प्रहरी नायब उपरिक्षक मधुकरजंग विष्टले अहिलेसम्म गौडेलको अवस्थाबारे कुनै जानकारी नआएको बताउनुभयो ।
लामो समयसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् । उनिहरुले आफ्ना आफन्त इष्टमित्र जताततै सम्पर्क गरिसकेका छन् भने गाउँलेहरुले पनि सम्भावित ठाउँहरुको खोजी गरिसकेको बताएका छन् । गाउँलेहरुले आत्महत्या गरेको आशंकामा कालीगण्डकी नदिका किनारहरुमा समेत खोजीकार्यलाई तिब्रता दिएको बताएका छन् । बैंकका कर्मचारी तथा मुडिकुवाका समाजसेवी समेत रहेका गौडेल वेपत्ता घटना रहस्यमय बन्दै गएको छ ।




