३ साउन, पर्वत । जनबादी गीतहरु गाएर पछिल्लो समय चर्चित बनेका बद्री पंगेनीले यस बर्ष तीजको गीतमा स्वर दिएका छन । हिन्दु नारीहरुको चाड भनेर चिनिने तीजमा पुरुष कलाकारहरुको हावी भएको आरोप लागीरहेको बेला गायक पंगेनीले पनि तीजका गीतहरुमा स्वर दिन थालेका छन । उनले प्रिया भण्डारीसंग भाउजुको हाइहाइ छ बोलको तीज गीत गाएका छन । सितारा म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीतको शब्द संयोजन भने एकनारायण भण्डारीको रहेको छ ।
रत्यौलि भाकाको उक्त गीतको म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । तीजका गीतहरुमा कमै मात्र स्वर दिएका पंगेनीले लामो समय पछि तीजका गीत गाएका हुन ।
उनले स्वर दिएको माइतबाट बोलको गीत निकै लोकप्रिय बनेको थियो । सिन्धु मल्ल र बद्री पंगेनीको आवाजमा म्युजिक नेपालले उक्त गीत बजारमा ल्याएको थियो । पछिल्लो समय लोक गीतका सर्जक सवै तीजका गीतहरुमा होमिएको बेला पंगेनी पनि तीज गीत मार्फत बजारमा आएका छन ।




