Print

कुश्माको गुप्तेश्वर गुफामा दर्शनार्थीको घुइँचो

 २ साउन, पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारसँगै रहेको प्रशिद्ध धार्मिक एवं पर्यटकीय स्थल गुप्तेश्वर गुफामा भक्तजनहरुको घुँईचो लागेको छ ।

आज साउन महिनाको पहिलो सोमवारको अवसरमा विहानैदेखि दर्शन गर्न आउने भक्तजनहरुको घुईचो लागेको हो । नेपालकै लामो र भगवान शिवलाई पती पाउँ भनि पार्वतीले तपस्या गरेको स्थलका रुपमा परिचित उक्त गुफामा साउन महिनाको आरम्भसँगै लागेको विशेष पुजामा दर्शन गर्ने दर्शनार्थीहरुको घुँईचो लागेको हो । उक्त गुफामा अन्य दिनभन्दा साउन महिनाको सोमवार दर्शनार्थीहरुको अत्याधिक भिड लाग्ने गर्दछ । अन्य समयमा भन्दा साउन महिनामा दर्शन गर्न आउनेहरुको संख्या पनि उल्लेख्य हुन्छ । अरु दिन २/३ सयको संख्यामा पुजाआजा गर्न आएपनि सोमवार भने ५ हजार भन्दा बढिले दर्शन गर्ने गरेको गुफाका पुजारी ख्यामराज आचार्यले जानकारी दिनुभयो ।

विक्रम सम्वत १९९० सालमा स्थानीय रत्नबहादुर कार्कीले दाउरा घाँस काट्न जाने बेलामा भालु लुक्ने दुलो भन्दै गुफा पत्ता लगाएका थिए । त्यसैको आधारमा स्थानीय विद्धान र धार्मिक व्यक्तित्वहरुले गुफाको अबलोकन गर्दै जाँदा पार्वतीले शिवजीलाई पती पाउँ भनि तपस्या बसेको ठाउँ रहेछ भन्ने मान्यता अनुरुप अनुसन्धान गर्दै जाँदा गुफा पत्ता लागेको स्थानीय सरोकारवालाहरु बताउँछन् ।


गुफा भित्र भगवान शिवको लिङ्ग तथा दशौ पाउहरु, शिवका साथमा रुद्र भगबान, महाकाली, महालक्ष्मी, सरस्वतीका मुर्तिहरु, शिवलिङग, सरस्वती माताको रुप, शिव पन्चांग, नागहरुको मुर्ति, पार्वती र शिवका रुपहरु भएका मुर्ति, भगवान रामका परिवार भएका मुर्तिहरु, विभुती लगाउने मुर्ति, पाँच पाण्डबहरुका मुर्तिहरु लगायत ३३ कोटी भगवानका आकृर्ति भएका मुर्तिहरु भएकाले यसलाई धार्मिक रुपमा निकै महत्वपुर्ण स्थलको रुपमा मानिदै आएको छ । पोखरा बागलुङ राजमार्गदेखि ५ सय मिटर तल र पर्वत सदरमुकामको काखमा अवस्थित भएपनि उचित रुपमा प्रचारप्रसारकै अभावमा गुफामा बाह्य पर्यटकहरुलाई भित्र्याउन नसकिएपनि पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको भने आकर्षण बढ्दै गएको छ ।


गुफाभित्र रहेका मनमोहक देविदेवताका आकर्षक मुर्तिहरुले दर्शनार्थी तथा पर्यटकहरुको मन तान्ने गरेको छ । गुप्तेश्वर गुफा संरक्षण समितिका अध्यक्ष मानकुमारी गिरीका अनुसार पर्वत लगायत आसपासका जिल्लाका भक्तजनहरु आउने गरेपनि यसको महत्वका हिसावले जति मात्रामा यहाँ आउनुपर्ने हो त्यति मात्रामा दर्शनार्थीहरु आउन सकेका छैनन् । गत वर्षदेखि गुफाको पुर्ननिर्माण तथा भौतिक पूर्वाधार निर्माणको काम समेत धमाधम भैरहेकाले दर्शन गर्न आउने दर्शनार्थीहरुलाई पनि सहज भएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

त्यस्तै बालाचतुदर्शनी, महाशिवरात्री, हरिवोधनी एकादशी, हरिशयनी एकादशी, माघे संक्रान्ति लगायतका चाडपर्वहरुमा विशेष मेला लाग्ने गर्दछ ।