२२ असार, पर्वत । सञ्चारकर्मी तथा लोक गायक माधव पराजुलीको तीज गीत शिकारीको छायांकन शुक्रवार कुश्माबजारमा गरिएको छ ।
आगामी हरितालिका तीजलाई मध्यनजर गर्दै बजारमा आउन लागेको गीतको छायांकन कुश्माबजारस्थित होटल बेञ्जुमा गरिएको हो । सामाजिक परिवेशमा आधारित गीतमा स्वर माधव पराजुली, तेजेन मल्ल र प्रतिभा कुँवरको रहेको छ ।
पछिल्लो समय बढ्दै गएको प्रेम विवाह र त्यसले समाजमा निम्त्याउने असर तथा सकारात्मक र नकारात्मक पक्षलाई गीतमा समेटिएको छ । पराजुलीको उक्त गीतमा प्रमोद अधिकारी, करिश्मा कुँवर र प्रविन देवकोटाको अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन प्रविन देवकोटाले गरेका थिए ।
उक्त भिडियो छिट्टैनै बजारमा ल्याउने तयारी समेत भैरहेको गायक पराजुलीले जानकारी दिनुभयो । उहाँले यस अघि झण्डै आधा दर्जन भन्दा बढि लोक गीतहरु बजारमा ल्याईसक्नुभएको छ । गीतको भिडियो छायांकनमा कुश्माबजारका महिला समुह तथा युवा युवतीको बाक्लो सहभागिता रहेको थियो ।




