१९ असार, पर्वत । जलजला गाउँपालिकाको केन्द्र परिर्वतन गर्ने बिषयमा फेरी बिबाद बल्झिएको छ । गाउँपालिकाका बहुमत सदस्यले केन्द्र परिर्वतनको माग गरेपछि केन्द्रको बिबाद फेरी बल्झिएको हो । बहुमत सदस्यले माग गरेपछि शुक्रबार देखि सोही बिषयमा छलफलका लागि गाउँसभा शुरु भएको छ । शुक्रबार सुरु भएको गाउँसभामा बहुमत सदस्यले केन्द्र परिर्वतनको निर्णय गर्न दबाब दिएका थिए भने अन्य सदस्यले बिरोध गरेपछि आइतबार सम्मका लागि बैठक स्थगित गरिएको छ ।
जलजला गाउँपालिकामा रहेका ४९ जना गाउँसभा सदस्य मध्ये २७ जनाले केन्द्र परिर्वतन गर्नुपर्ने माग गरेका छन । उनीहरुले जिपिएसबाट मध्य भागमा पर्ने स्थानमा नै केन्द्र तोक्न माग गरेका छन । जलजला गाउँपालिकाका ५,६, ७, ८ र ९ का सबै निर्वाचित जनप्रतिनिधी र दुई जना गाउँ कार्यपालिका सदस्य समेत केन्द्रपरिर्वतको पक्षमा उभिएका छन ।
वडा नं ८ का वडा अध्यक्ष हरिबिकास जिसीले केन्द्र परिर्वतनको निर्णय नभए सम्म गाउँसभा अघि नबढ्ने र बहुमतले केन्द्र परिर्वतन गर्न सक्ने भएका कारण निर्णय कार्यान्वयनको बिकल्प नभएको बताए । ‘बहुमतले गर्ने निर्णय कार्यान्वयनको बिकल्प छैन’ उनले भने ‘जिपिएसले मध्य भागमा देखाउने स्थानमा केन्द्र परिर्वतन गर्नका लागि हाम्रो सहमति छ’ जिपिएसले मध्यभाग खोज्दा साबिक शालिजा गाबिसको भोटेडाडाँमा केन्द्र रहने बताइन्छ । तर पहिले नै कायम भएको केन्द्र परिर्वतन गर्न हुँदैन भन्ने पक्षमा बाँसखर्क र माझफाँटका बासिन्दा देखिएका छन ।
वडा नं. १, २,३,४ का बासिन्दा कुनैपनि हालतमा माझफाँट नै केन्द्र बन्नुपर्ने अडानमा थिए । तर पछिल्लो समयमा उनीहरु माँझफाँट र मिलनचोकको बिचमा पर्ने भागमा केन्द्र सार्ने कुरामा लचक भएका छन। त्यसको बिच भाग भनेको फड्के ढुंगा, सिद्धको थान हुन्छ । ‘ मिलनचोक र माझफाँट भन्दा दुबैको मध्य भागमा पर्ने स्थानमा केन्द्र सार्ने कुरामा हामी सहमत छौ’ वडा नं ४ का अध्यक्ष भिष्म मल्लले भने ‘दुबै पक्षले आफ्नो अडानमा केही लचकता अपनाउने हो भने सहमति कायम हुन सक्छ ।
जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) सबै पक्षलाई सहमतिमा ल्याएर केन्द्र तोक्ने प्रयास भैरहेको बताउँछन । ‘सबै पक्षलाई सहज हुने र सबैले मान्ने खालको बिकल्पका बारेमा छलफल भैरहेको छ’ उनले भने ‘बहुमतको सम्मान हुन्छ तर सहमति नै सबैभन्दा उपयुक्त बिकल्प हो’ बिकल्प मिलनचोक देखि वारीबेनी सम्म स्थानिय तह पुर्नसंरचना आयोगले जलजलाको केन्द्र साबिक माझफाट गाबिसको कार्यालयलाई तोकेपछि केन्द्र अपायक भएको भन्दै स्थानियय निर्वाचन अघि आन्दोलन भएको थियो । लेकफाँट, शालिजा, बनौ, धाइरिङ्ग र नाङ्गलीबाङ्गका बासिन्दा केन्द्र परिर्वतनका लागि १२ दिन सम्म आन्दोलन गरेका थिए भने बाँसखर्क र माझफाँट गाबिसका बासिन्दाले माझफाँट नै केन्द्र रहनुपर्ने भन्दै आन्दोलन गरेका थिए ।
तत्कालका लागि केन्द्र माझफाँट र सम्पर्क कार्यालय मोहनचोक राखेर बिबादलाई मिलाइएको थियो । तर स्थानिय निर्वाचन पछि निर्वाचित जनप्रतिनिधीहरुले ६ महिना भित्र निर्णय गरेर केन्द्र परिर्वतन गर्न सक्ने अवस्था कानुनमा भएकाले मिलनचोकमा केन्द्र माग गरेका जनप्रतिनिधीले बहुमत सहित केन्द्र परिर्वतन गर्न माग गरेका छन ।
जिपीएस अनुसार भोटेडाडाँमा केन्द्र रहँदा साबिक शालिजा, लेकफाँट र बनौ गाबिसका केही बसान्दिालाई भने सहज हुनेछ तर नाङ्गलीबाङ्ग देखि बाँसखर्कका बाँसिन्दालाई उक्त केन्द्र अपायक हुन्छ । दुबैपक्षले हठ त्यागेर फड्के ढुंगा वा सिद्धको थानलाई बनाउँदा पनि केही सहज हुन्छ भने सबैभन्दा उक्तम बिकल्प भनेको मिलनचोक देखि वारी बेनी सम्मको भूभागलाई केन्द्र कायम गर्दा सबैलाई पायक हुने देखिन्छ ।
मिलनचोक केन्द्र कायम गर्न माग गर्ने पक्षले यस अघि यो बिकल्पमा सहमति जनाएको थियो । त्यसैले यसको पक्षमा लबिङ्ग गर्न आवश्यक भएको मध्यमार्गी जनप्रतिनिधीले बताएका छन । आइतबार हुने गाउँसभा अघि यो बिकल्पमा सहमति खोजेर निर्णयमा पुग्न दबाब दिनुपर्ने उनीहरुको धारणा छ ।




