७ जेठ, पर्वत । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश न ४ का सह संयोजक गणेश तिमिल्सीनाले स्थानीय तहहरुको अधिकार कटौतीको चलखेल हुन शुरु भएको खुलासा गरेका छन । बुधबार पर्वत सदरमुकाम कुश्मा बजारमा एमाले पर्वतले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै तिमिल्सीनाले स्थानीय तहको निर्वाचनमा एमाले पहिलो शक्ति हुने देखेपछि अरु पाटीले स्थानीय तहको अधिकार कटौतीको चलखेल शुरु गरेको खुलासा गरेका हुन ।
एमालेको तर्फबाट निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्न आयोजीत कार्यक्रममा बोल्दै नेता तिमिल्सीनाले पुर्नसंरचित संरचनामा स्थानीय निकायमा धेरै प्रकारका अधिकार भएकाले ति अधिकारको कुशल प्रयोग गर्न जनप्रतिनिधिलाई निर्देशन समेत दिए । अधिकार खोस्नेहरुको विरुद्ध एमालेले आन्दोलन गर्ने बताउदै नेता तिमिल्सीनाले वडा तह देखि अधिकार प्राप्तिको आन्दोलन गर्न तयार रहन समेत कार्यकर्तालाई निर्देशन दिए ।
पर्वतमा बहुमत सहितको पहिलो पाटी बनेको एमालेले ३७ वडा सहित ४ स्थानीय तहमा विजयी हासिल गरेको छ । विजयी उमेदवारहरु माझ नेता तिमिल्सीनाले एमालेको नीति विचार र सिद्धान्त बमोजीम जनमुखी ब्यवहार गर्न समेत जनप्रतिनिधिहरुलाई आग्रह गरे । ‘पाटीको साख जोगाउने गरि काम गर्नुहोस’ उनले भने–‘जनता सधै एमालेको साथमा रहन्छन ।’ भाषण र आर्दशमा भन्दा कार्यकुशलतामा विश्वास गर्न समेत उनले नवनिर्वाचित पदाधिकारीहरुलाई अनुरोध गरे ।
कार्यक्रममा एमालेका अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेलले थोरै समय विश्राम गर्ने र धेरै समय काम गर्ने परिपाटीले मात्र गाउँको विकास हुने भन्दै काममा निरन्तर खटन अनुरोध गरे । एउटा गाउँले गरेको विकासको देखासिकी गरेर प्रतिस्पर्धात्मक विकास योजनाहरु ल्याउन जनप्रतिनिधिलाई अनुरोध गर्दै उत्कृष्ट नगर र गाउँ बनाउने अभियानमा सवै जनप्रतिनिधि लाग्न समेत उनले निर्देशन दिए ।
एमाले जिल्ला अध्यक्ष पदम गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पाटी सचिव पदमपाणी शर्माले गरेका थिए ।




