समाचार टिप्पणी
प्रधानमन्त्री बनेको १० दिनमै काँग्रेस सभापति शेरबहादुर देउवाले दुई नम्बर प्रदेशको चुनाव गर्ने अलोकप्रिय निर्णय गरेका छन् । उनको अलोकप्रिय र अलोकतान्त्रिक निर्णयको चर्को विरोध र आलोचना भएको छ । खासगरि, बिभिन्न दलका नेता र सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ ।
बैशाख ३१ गते नै देशैभर एकैपटक हुनुपर्ने चुनाव मधेशी मोर्चालाई देखाएर जेठ ३१ लाई सारियो । त्यतिसम्म जनताले पचाएकै थिए । तर, त्यसपछि पनि असार ९ हुँदै असार १४ गते पुर्याइयो । हुँदाहुँदै राष्ट्रिय जनता पार्टीलाई रिझाउन भन्दै देउवाले २ नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा गर्ने गरी स्थगित गरेका छन् ।
देउवा दोस्रो चरणको चुनाव, संसदीय चुनाव गराउँदै संविधान कार्यान्वयन अभिभारा बोकेर जेठ २३ गते प्रधानमन्त्री चुनिएका थिए । यसैपनि असक्षम भन्दै उनीमाथि प्रश्न उठिरहेका बेला उनले राजपालाई चुनावमा ल्याउनुको सट्टा उल्टै सार्नुले सरकारको धरातल कति कमजोर छ भन्ने प्रष्टै भएको छ । यतिमात्रै होइन्, देउवा आफ्नो निर्णयमा कति अडिग हुन्छन् भन्ने पनि स्पष्टै देखिएको छ ।
मधेशवादी दलहरुमध्ये शक्तिशाली मानिएका संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक यसअघि नै चुनावी मैदानमा छन् । एक त मधेशवादी दलले पहाड र मधेशका बीचमा यसअघिदेखि नै दूरी बढाउन खोजेका थिए । मधेश र पहाडको बीचमा दूरी बढाउन देउवा सरकारको यो निर्णयले झन् बढी काम गरेको छ । पहाड र मधेस फरकफरक हुन् भन्ने भावना स्थापित गराउने यसले मद्दत गर्नेछ । किनकी एउटा दलले मात्रै विरोध गर्दैमा चुनाव रोक्ने हो भने आगामी कयौँ बर्ष चुनाव गर्दैमा बित्नेछ । यसले दीर्घकालिन रुपमा निकै असर पार्ने देखिएको छ ।
भर्खरै खुलेको राजपालाई देखाएर चुनाव सारिए पनि त्यसभित्र देउवाका धेरै दाउहरु छन् । पहिलो त देउवा आफ्नो कुर्सीको आयु जसरी पनि बढाउन चाहन्छन् । आगामी माघ ७ भित्र स्थानीयलगायत प्रदेश र संघीय संसद्को निर्वाचन संविधानले नै अनिवार्य गरेको छ । तर, देउवाको विगतलाई हेर्ने हो भने उनी अनेकबाजी गर्दै चुनाव सार्ने अनि संसद्कै म्याद अर्को एक वर्ष बढाउने रणनीतिमा रहेको देखिन्छ । यदि देउवा यही बाटोमा हिँड्न खोजिरहेका छन् भने यो उनका लागि त आत्मघाती नै हुनेछ भने देशका लागि झनै ठूलो दुर्भाग्य हुनेछ । किनकी संविधानको बैधानिकतामाथि प्रश्न उठाइरहेको एउटा पक्षलाई संविधान सम्पूर्ण रूपमा असफल पारेर सहयोग पुर्याउने काम देउवाकै हातबाट हुनेछ ।
दोस्रो मधेशमा काँग्रेसका लागि अनुकुल अबस्था नभएको देउवाको बुझाइ छ । काँग्रेसका मधेशका सांसद र नेताले देउवालाई बुधबारै भेटेर २ नम्बर प्रदेशमा अहिले चुनाव गर्दा पार्टी हार्ने सुझाव दिएका थिए । आफ्नो कुर्सी र पार्टीको स्वार्थका लागि देउवाले लोकतान्त्रिक मुल्य, मान्यता र देशको दीर्घकालिन असर पार्ने विषयसँग खेलवाड गरेका छन् ।
हुन त पूर्वराजा ज्ञानेन्द्रले उनलाई पटकपटक असक्षमको बिल्ला लगाउँदै सत्ताबाट हटाएका थिए । उनी पहिलोपटक प्रधानमन्त्री भएकै बेला माओवादीले बन्दुक उठाएको थियो । अर्कोपटक प्रधानमन्त्री भएका बेला राजाले शासन सत्ता नै हातमा लिए । देउवा जब जब प्रधानमन्त्री हुन्छन्, तब देशमा अस्थिरता देखिन्छ । देउवाको यो अस्थिर स्वभावले देशको लोकतन्त्र र राष्ट्रियतामाथि नै चिन्ता व्यक्त गर्न थालिएको छ । – दैनिक नेपाल अनलाइनबाट




