१ जेठ, पर्वत । कुस्मा नगरपालिका १ पाङ घर भई कटुवा चौपारी स्थित आईबल एकेडेमी बोडिङ स्कुलमा पढाउँदै आएका एक शिक्षक विगत ८ दिनदेखि वेपत्ता भएकाछन् ।
कुस्मा ५ मेलमिलाप चोक डेरा गरि बस्ने शिक्षक नारायण पौडेल गत बिहिबारदेखि सम्पर्क बिहीन बनेका हुन् । विद्यार्थीलाई यातना दिएको भन्दै विद्यालय प्रशासनले पीडित विद्यार्थीका अभिभावकसँग माफी माग्न आउन भनेपछि उनी विद्यालय नगएको र सोही दिनदेखि सम्पर्कमा समेत नरहेको विद्यालयका प्रिन्सीपल बिमल पौडेलले जानकारी दिए ।
उनले विद्यार्थीलाई यातना दिएको थाहा भएपछि अभिभावकसँग माफी माग्न आउन भन्दा आएनन् त्यसपछि उनी हाम्रो सम्पर्कमा छैनन् प्रिन्सीपल पौडेलले भने ।
पौडेलका बाबु पदमपाणी पौडेलले भने सम्पर्कविहिन बनेका छोराको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन् । खोजीकार्यका लागि दिएको निवेदनको आधारमा पौडेलेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी उपरिक्षक मधुकरजंग विष्टले जानकारी दिए ।
शिक्षक पौडेलले गत जेठ २३ गते मंगलबार कक्षा परिक्षा लिएको बताईएको छ । कक्षा परिक्षामा पास अंक ४० नल्याउने लाई २४ गते शारिरिक तथा मानसिक यातना दिएको विद्यालयले जनाएको छ । शिक्षक पौडेल विगत २२ दिनदेखि मात्रै विद्यालयमा पढाउन सुरु गरेका थिए ।
शिक्षक पौडेलले क्लास टेस्ट लिएर फेल हुने लाई सजाय दिने क्रममा एक विद्यार्थीलाई ५ सय पटक उठबस गराएको र विद्यार्थीले २ सय ८८ पटक उठ बस गरेपछि बेहोस भएका थिए भने अर्का एक विद्यार्थीलाई हात सुनिने गरि पिटेका थिए । विद्यालयका अनुसार एक विद्यार्थी सोही विद्यालयमा कार्यरत कर्मचारीका छोरा भएकाले तत्कालै घटनाको बारेमा जानकारी भएको बताइएको छ ।
विद्यार्थीका अभिभावकले उक्त शिक्षकलाई विद्यालयमा राख्न नहुने, उपचार खर्च बेहोर्नुपर्ने तथा माफी मगाउनु पर्ने माग राखेपछि शिक्षक पौडेल विद्यालयको सम्पर्कमा नआएको प्रिन्सीपल पौडेलले बताए ।
शिक्षक पौडेल अभिभावकसँग माफी माग्न नआएपछि विद्यालयकोतर्फबाट माफी माग्ने तथा उपचार गराउने व्यवस्था गरिएको प्रिन्सिपल पौडेलले बताए । उनलाई विद्यालयले बोलाउँदा नआएपछि अब पढाउने गरि विद्यालय नआउन समेत भनेको र त्यसपछि उनको बारेमा केही जानकारी नभएको उनको भनाई छ ।
यता शिक्षक पौडेल बस्ने कुस्मा ५ स्थित कोठामा खाना बनाउँदै गरेको अवस्थामा त्यसै छाडिएको, लुगा धुन भिजाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । गत शुक्रबारसम्म परिवारसँग फोन सम्पर्क भएको कल डिटेल भएपनि त्यसपछि उनी सम्पर्क बाहिर रहेको र खोजि कार्य भईरहेको प्रहरी निरिक्षक विष्टले जानकारी दिए ।




