१ जेठ, पर्वत । पर्वतमा सञ्चालित एक मात्र दृष्टिविहिन श्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि छात्राबास निर्माण हुने भएको छ । विगत केही बर्षअघि देखि पर्वतका विभिन्न स्थानहरुमा बालिबालिका तथा शिक्षाको क्षेत्रमा काम गर्दै आएको प्लान नेपालले ६१ लाख भन्दा बढीको लागतमा छात्राबास निर्माण शुरु गरेको हो ।
शिवालय मावि कुश्माको परिसरमा भवन निर्माणको थालनी गरिएको संस्थाका कार्यक्रम अधिकृत टुकप्रसाद शर्माले जानकारी दिनुभयो । संस्थाले २ कोठे ट्वाइलेट बाथरुम सहित ६ कोठे अपाङ्गता मैत्री भवन निर्माण गर्ने भएको छ । भवन अभावमा भाडाको घरमा बस्न बाध्य दृष्टिविहिन बालबालिकाहरु भवन निर्माण भएपश्चात् विद्यालय परिसरमा नै छात्राबासको सुविधा उपभोग गर्न पाउने भएका छन् ।
‘बस्ने घर टाढा हुँदा हिडेर आउने जाने गर्नुपर्दा समस्या भएको छ’ दृष्टिविहिन विद्यार्थी इन्द्र न्यौपानेले भन्नुभयो ‘भवन निर्माण कार्य शुरु भएपछि हामी खुशी भएका छौँ’ दृष्टिविहिन बालबालिकाहरु आफु पढ्ने विद्यालयबाट करिव २० मिनेटको दुरीमा हिडेर आउने जाने गरेर अध्ययन गर्दै आएका छन् । विद्यालयमा अहिले १५ जना दृष्टिविहिन बालबालिका अध्ययनरत छन् ।
यस अघि पर्वतको जलजला गाउँपालिका शालिजामा सञ्चालन भएको स्रोत कक्षा दृष्टिविहिन बालबालिकाहरुका अभिभावकहरुले टाढा भएको गुनासो गरेपछि कुश्मा बजारमा सञ्चालित शिवालय माविमा स्थान्तरण गरिएको थियो ।
अपाङ्ग उत्थान समाज पर्वतको पहलमा उक्त दृष्टिविहिन स्रोत कक्षा लामो समयको छलफल पश्चात् शिवालय माविमा स्थान्तरण गरिएको थियो । अहिले विभिन्न सहयोगी संस्था तथा अन्य दाताहरुको सहयोग जुटाएर छात्राबास सञ्चालन गरिदै आएको अपाङ्ग उत्थान समाज पर्वतका कार्यक्रम अधिकृत जगन्नाथ शर्माले जानकारी दिनुभयो ।




