२१ जेठ, पर्वत । जिल्लाका १० वटा स्वास्थ्य संस्थाको सामाजिक परिक्षण शुरु गरिएको छ । स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवा र सेवाग्राही वीचको सम्बन्धको अवस्थाको विषयमा जिल्लाका १० वटा स्वास्थ्य संस्थाको जिल्ला स्वास्थ्य कार्यालयले परिक्षण गर्न शुरु गरेको हो ।
स्थानीय गैससको सहयोग कार्यालयले जिल्लाको महाशिला गाउँपालिका अन्तर्गत लुंखु प्राथमिक स्वास्थ्य केन्द्र, फलामखानी स्वास्थ्य चौकी त्यसैगरी फलेवास नगरपालिकाको कार्किनेटा स्वास्थ्य चौकी, कुश्मा नगरपालिकाको पकुवा स्वास्थ्य चौकी, दुर्लुङ स्वास्थ्य चौकी र पाङ स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्य शुरु गरिएको कार्यालयले जनाएको छ । यसैगरी कार्यालयले मोदी गाउँपालिकाको बाजुङ स्वास्थ्य चौकी, तिलाहार स्वास्थ्य चौकी, देउपुर स्वास्थ्य चौकी र भुकताङले स्वास्थ्य चौकीकोको परिक्षण गर्न लागेको हो । कार्यालयले सामाजिक परिक्षण्का लागि स्थानीय गैसस सीड नेपाललाई जिम्मेवारी दिएको छ ।
सामाजिक परिक्षण कार्य अन्तर्गत कार्यालयले प्रवाह गरेका सेवाहरुको अध्ययन, स्थानीय सेवाग्राहीसंग अन्तर्वाता र सरोकारवालाहरु वीच आमभेला सञ्चालन गरिनेछ । सामाजिक परिक्षणबाट प्राप्त भएको नतिजाका आधारमा आगामी बर्षका लागि स्वास्थ्य सेवा सुधारका लागि कार्य योजना निर्माण गरिनुका साथै त्यसको अनुगमन र सुपरिवेक्षण आगामी बर्ष गरिनेछ । नेपाल सरकारको स्वास्थ्य सेवा विभाग अन्तर्गत प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा अन्तर्गत कार्यालयको बार्षिक कार्यक्रमबाट उक्त परिक्षण सञ्चालन गर्न लागिएको हो ।




