Print

पर्वतको कांग्रेसमा खैलावैला, क्षेत्रीय अध्यक्षद्धारा राजीनामा, सांसद जोशी प्रति आक्रोसित

७ जेठ, पर्वत । नेपाली काँग्रेस पर्वत क्षेत्र नं. १ का क्षेत्रीय सभापति गंगाधर पौडेलले पदबाट राजीनामा दिएका छन् ।
हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख पदको आकांक्षी समेत रहेका पौडेलले नेपाली काँग्रेसद्धारा आयोजित बिजयी सभाकै अवसरमा पदबाट राजीनामा दिएका हुन् ।

उनले आफ्नो राजीनामा पत्र नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल र केन्द्रिय सदस्य तथा सांसद अर्जुनप्रसाद जोशीलाई बुझाएका हुन् । स्थानिय तहको चुनावमा कुश्मा नगरपालिकाको प्रमुख पदमा आफु आकांक्षी हुँदा हुँदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीमा कनिष्ठ र आफ्नै नातेदार भाईलाई टिकट दिएको भन्दै उनले राजीनामा दिएको बताएका छन् । ४० वर्ष भन्दा लामो आफ्नो राजनीतिक बलिदानीलाई लत्याउँदै जोशीले गरेको हर्कत सहन नसकि आफुले नेपाली काँग्रेसको पार्टी सदस्यता समेत नरहने गरी राजीनामा दिएको बताएका छन् । उनले पर्वत काँग्रेसलाई जोशीले बिधान विपरित चलाउने गरेको समेत आरोप लगाएका छन् ।
उनले अब स्वतन्त्र पुर्वक रुपमा बाँकी जीवन बिताउने समेत बताए । आफ्नो योगदान र त्याग जिल्ला कार्यसमिति र नेपाली काँग्रेसले केन्द्रिय कार्यालयले समेत बेवास्ता गरेको भन्दै अब नेपाली काँग्रेससँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
उनले राजीनामा पत्रमा आफुलै बैशाख १८गतेनै केन्द्रिय कार्यालयमा सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएको तर जिल्लामा चुनावी बातावरण खल्बलिन्छ भनेर चुपचाप बसेको र बिजयी भैसकेपछि नेपाली काँग्रेस कुश्मा नगरपालिकाको बिजयी सभामा राजीनामा बुझाएको बताएका छन् । उक्त राजीनामा जिल्ला सभापति र केन्द्रिय कार्यालयमा समेत आइतवार रजिष्टरी गरी पठाएका छन ।

सांसद तथा केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीप्रति आक्रोशित

सांसद अर्जुनप्रसाद जोशीका बाबु स्वर्गिय अमृतजोशीकै कार्यकालदेखि सक्रिय राजनीति गर्दै आएको भएपनि अहिले अर्जुनप्रसाद जोशीको निर्णयमा आफ्नो राजनीतिक योगदान माथि खेलवाड गरिएको बताएका छन् ।

६० वर्षिय पौडेलले आफुले अन्तिम इच्छा नगरपालिकाको प्रमुख हुने रहेको भन्दै उक्त अवसर नपाएपछि पदमा बसिरहन आवश्यक नठानेर राजीनामा दिनुपरेको पनि खुलाएका छन् । उनले जवसम्म परिवारबादबाट पर्वत काँग्रेसले छुटकरा पाउन सक्दैन तबसम्म आफुजस्ता निष्ठाबान, र त्यागि कार्यकर्ताहरुले कहिल्यै अवसर पाउन सक्दैनन् भन्दै असुन्तुष्टि समेत व्यक्त गरेका छन् । उनले अब बाँकी जीवन गाउँमै रहेर समाजसेवा र अन्य रचनात्मक कार्य गर्ने पनि उनले बताएका छन् ।
पौडेलको राजीनामा सँगै क्षेत्र नं. १ मा नेपाली काँग्रेसलाई ठुलो घाटा व्यहोर्नुपर्ने अवस्था आएको जिल्ला नेताहरुले जानकारी दिएका छन् ।