Print

अग्लो पूलमा सुविधा सम्पन्न सार्वजनिक शौचालय र पक्कि मोटरबाटो बन्दै

 ७ जेठ, पर्वत । व्यवस्थित शौचालयको अभावमा दुर्गन्धित बन्दै गएका मुलुककै दुई अग्ला झोलुङ्गे पुल परिसरमा आधुनिक शौचालय निर्माण शुरु भएको छ ।

पर्वत सदरमुकाम कुश्माबजार स्थित बडागाउँ–कैया झोलुङ्गे पुल वडागाउँ–मुडिकुवा झोलुङ्गे पुलमा आउने आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणको लागि सार्वजनिक शौचालय निर्माण शुरु गरिएको हो ।

जिल्ला समन्वय समिति पर्वत अन्र्तगत पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजनाको रु. ७ लाख २४ हजार ६ सय ४६ रुपैयाँ ६८ पैसाको लागत स्टिमेटमा सार्वजनिक शौचालय निर्माणको काम शुरु गरिएको ईन्जिनियर दिनेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

उक्त आधुनिक शौचालयको ५० प्रतिशत भन्दा बढि निर्माण कार्य सम्पन्न भैसकेको छ । तिमिल्सिनाले भन्नुभयो ‘जिल्ला विकास समितिको रु ४ लाख ५० हजार रुपैयाँ र बाँकी रकम समतिले नै जुटाएर सर्वसधारण तथा पर्यटकहरुका लागि सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो ।’

शौचालय निर्माणका लागि जिल्ला समन्वय समितिको रु २ लाख २५ हजार रुपैयाँबाट शुरु गरिएको र थप रकम कुश्मा नगरपालिकाले सहयोग गर्ने आश्वासन दिएको सार्वजनिक शौचालय निर्माण समितिका अध्यक्ष मानकुमारी गिरीले जानकारी दिनुभयो ।

उक्त स्थानमा ३ ओटा शौचालय र एक पिसाब घर शौचालय रेखदेखको लागि बस्ने भवन निर्माण गर्न लागिएको छ, गिरीले भन्नुभयो । ‘कुश्मा नगरपालिकाले आवश्यक रकम दिने प्रतिवद्धता जनाएको भएपनि सम्झौता भने भैसकेको छैन । नगरपालिकाले आर्थिक सहयोग नगरेको अवस्थामा निर्माण समिति आफैले रकम जुटाएर शौचालय भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने गिरीले बताउनुभयो ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास हुँदै गरेका मुलुककै अग्ला पुलमा व्यवस्थिति शौचालय नहुँदा पुल परिसरमा फोहोरको डंगुर बढ्दै गएको थियो । सोहि अवस्थालाई मध्यनजर गर्दै शौचालय, शौचालय सरसफाई गर्ने कर्मचारीका लागि आवास र अन्य पूर्वाधार निर्माण गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।
उक्त पुलहरुमा दैनिक २ देखि १० हजार सम्म आन्तरिक तथा बाह्य पर्यकहरु अबलोकनका लागि आउने गरेका छन् । विद्यार्थीहरुको शैक्षिक भ्रमणको सिजनमा भने २० हजार सम्म पुग्ने गरेको स्थानिय व्यावसायीहरुको भनाई छ ।

यसैगरी जिल्लाका तीन वटा अग्लो पुलमा जाने मोटरबाटोमा कालोपत्रेको काम शुरुवात भएको छ । कच्चि सडक हुँदा यात्रा कष्टकर हुँदै आएपछि तीन वटै पुलमा जाने सडकको कालोपत्रे कुश्मा नगरपालिकाले शुरुवात गरेको हो ।