५ जेठ, पर्वत । घोषित ७ स्थानीय तह मध्ये पर्वतमा ४ मा एमाले, ३ मा कांग्रेस विजयी भएको छ । ७ वटा स्थानीय तह रहेको पर्वतमा फलेवास नगरपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका र बिहादी गाउँपािलकामा एमाले विजयी भएको हो भने, जलजला गाउँपालिका, कुश्मा नगरपालिका र पैयू गाउँपािलकामा नेपाली कांग्रेस विजयी भएको छ ।
फलेवासमा एमालेका पदमपाणी शर्मा प्रमुखमा विजयी भएका छन भने उपप्रमुखमा एमालेकी मञ्जु अधिकारी विजयी भएकी हुन ।
यसैगरी महाशिला गाउँपालिको अध्यक्षमा एमालेका राजु पौडेल विजयी भएका छन भने उपाध्यक्षमा हिराकुमारी राना विजयी भएकी छिन । उता, विहादी गाउँपालिकामा भने एमालेका कमल भुषाल अध्यक्षमा विजयी भएका छन । यसैगरी उपाध्यक्षमा डम्मर कुमारी गुरुङ विजयी भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।
जिल्लाको जलजला गाउँपालिकामा भने कांग्रेसका रामकृष्ण मल्ल र उपाध्यक्षमा सिमा गर्बुजा निर्वाचित भएकी छिन । उता, पैयू गाउँपालिकामा भने नेपाली कांग्रेसका खगेन्द्र तिवारी अध्यक्ष पदमा निर्वाचित भएका छन । उपाध्यक्ष पदमा भने कांग्रेसकी जसमति गुरुङ निर्वाचित भएकी छिन । यसैगरी कुश्मा नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र जोशी र उपप्रमुखममा कंग्रेसकै सिता लामिछाने विजयी भएकी छिन । उता, मोदी गाउँपालिकामा भने एमालेका प्रेम पौडेल अध्यक्ष पदमा र उपाध्यक्ष पदमा एमालेकै सेती महत विजयी भएकी छिन ।
यसैगरी जिल्लाका ६१ वटा वडा मध्ये ३७ स्थानमा एमालेले विजयी हासिल गरेको छ भने २० वडामा एमालेले विजयी हासिल गरेको छ । उता, माओवादी केन्द्रले ४ वटा वडामा विजयी हासिल गरेको छ । यो मतपरिणामसंगै पर्वतमा नेकपा एमाले पहिलो पार्टी बन्न सफल भएको छ ।
उता, राष्ट्रको पहिलो पार्टी भनेर मानिएको कांग्रेस भने दोस्रो पाटी बनेको छ । यसैगरी माओवादीको अस्तित्व भने पर्वतमा संकटमा परेको छ ।
दुईवटा गाउँपालिकामा मात्रै उपस्थिती देखाउन सफल माओवादी पार्टी तेस्रो शक्तिको रुपमा देखिएको छ । अधिकांश वडा, नगर र गाउँमा जमानत जफत भएको माओवादी बाहेकका पाटीले भने कुनै पनि वडामा उपस्थिती देखाउन सकेनन ।




