Print

पर्वतमा यसरी खाइदियो असिनाले करोडौको बालीनाली

 ३ जेठ, पर्वत । पर्वत जिल्लाका विभिन्न स्थानमा मंगलवार साँझ परेको असिनाका कारण करोडौ मुल्यको बालीनाली नष्ट भएको छ ।

जिल्लाको जलजला गाउँपालिका, कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका विभिन्न वार्डमा परेको असिनाका कारण करोडौको तरकारी तथा अन्नवाली नष्ट भएको छ ।

जलजला ८ नाङलीवाङमा परेको असिनाका कारण व्यावसायीक रुपमा तरकारी खेती गरेका झण्डै २ दर्जन कृषकहरुको ५० लाख भन्दा बढिको तरकारीबाली नष्ट भएको छ । त्यस्तै सवै क्षेत्रमा लगाएका व्यावसायीक मकै खेती समेत पुर्ण रुपमा नष्ट भएको छ ।

झण्डै आधार घण्टा भन्दा बढि समय परेको असिनाले मकैबाली पुर्ण रुपमा नष्ट गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । दोस्रो पटक गोड्ने बेलाको मकैमा असिना परेका कारण ठुलो क्षति भएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । त्यसैगरी थापाठाना, कार्कीनेटा, ठुलीपोखरी, खौलालाकुरी, आर्थरडाँडाखर्क लगायतका गाविसमा लगाइएको ठुलो क्षेत्रफलको मकैवाली र तरकारीवालीमा असर पुगेको छ । थापाठानामा मकै बाली पुर्ण रुपमा नष्ट भएको स्थानिय पवन थापा क्षेत्रीले गुनासो गरेका छन् ।