२३ वैशाख, पर्वत । नेकपा एमालेको तर्फबाट कुश्मा नगरपालिकाका उमेदवार मेघनाथ सुवेदीले जनताको सेवा गर्ने अभियानमा आफूले राज्यको सेवा सुविधा नलिने उद्घोष गरेका छन । शनिवार कुश्मा बजारमा आयोजीत उमेदवारहरु वीचको कर्कस कार्यक्रममा सुवेदीले आफ्नो जीवन सामाजिक सेवामा समर्पित गर्ने उद्देश्यले आफू राजनीतिमा आएको बताउँदै राज्यको सुविधाका लागि आफुले राजनीति नगर्ने दाबी समेत गरे ।
उनले नगर विकासको लागि आफूले देखेको स्पष्ट मार्ग चित्रलाई जनता सामु प्रस्तुत गरेको बताउँदै प्रतिबद्धतालाई साकार पार्ने काममा लाग्ने समेत उद्घोष गरे । जनपक्षिय प्रधानपञ्च हुँदै नेपाली राजनीतिमा सक्रिय बनेका लोकप्रिय नेताको पहिचान बनाउन सफल सुवेदीले एमालेको लोकप्रिय कार्यक्रम गाउँघरमा लैजान सके गाउँले मुहार फेर्न सक्ने समेत जिकिर गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका उमेदवार रामचन्द्र जोशीले भने आफू पनि कुश्मा नगरपालिकाकालाई सम्बृद्ध बनाउने अभियानमा लाग्ने उद्घोष गरे । नगरको जिम्मेवारी पाएमा नगरको विकासको खाकामा छलफल गरि नगर सम्बृद्धिको अभियान सञ्चालन गरिने बताए । उनले प्रतिबद्धता गरेर बस्नु भन्दा काम गरेर देखाउनु पर्ने बताउदै आफूले काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा माओवादी केन्द्रका उमेदवार शंकर गिरी, राप्रपाका प्रकाश पौडेल, नयाँ शक्ति नेपालका उमेदवार दिपक पौडेल, बाममोर्चाका उमेदवार तेजेन्द्र पौडेल लगाएतले आफना प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रमको आयोजना पर्वत जेसिजले गरेको थियो ।




