पर्वत, बैशाख ७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् ब्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले मोदी गाउँपालिकालाई समृद्ध गाउँपालिकाका रुपमा विकास गर्न नेपाली काँग्रेसको विकल्प नभएको बताएका छन् । नेपाली काँग्रेस मोदी गाउँपालिकाको बिहिबार कार्यालय उद्घाटन गर्दै जोशीले यस्तो बताएका हुन ।
‘आफ्नो गाउँलाई कस्तो बनाउने भन्ने सम्पूर्ण अधिकार राज्यले स्थानीयस्तरलाई नै प्रत्यायोजन गरेको छ, त्यसैले समृद्ध मोदीका लागि नेपाली काँग्रेसको जीत हुनु आवश्यक छ’ जोशीले भने । मोदी गाउँपालिका उर्जा र पर्यटनका लागि पर्वत जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको भन्दै जोशीले त्यसका लागि परिपक्क, इमानदार र इतिहास बोकेको पार्टीको विकल्प नभएको बताए । सिंहदरबार पुगेर खोज्नुपर्ने अधिकार अब स्थानीय तहमै आएको भन्दै काँग्रेस नेता जोशीले सहि र गलत पार्टी छुटयाउने समय आएको बताए ।
काँग्रेसले स्पष्ट भिजन र योजनाका साथ चुनावमा जान लागेको जनाउदै जोशीले निश्चित समयमा हरेक स्थानीय तहलाई समृद्ध बनाउने गरी नेपाली काँग्रेसले तयारी गरेको जानकारी दिए । ‘निश्चित बर्षमा हरेक गाउँ र नगरपालिकालाई समृद्ध बनाउने गरी नेपाली काँग्रेसले तयारी गरेको छ, त्यसका लागि नेपाली काँग्रेसलाई जनताको साथ र सहयोग चाहिन्छ’ उनले भने ।
नेपाली काँग्रेस मोदी गाउँपालिकाका संयोजक जिवनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसालले जनताको चाहनाअनुसारको नेतालाई पार्टीले उम्मेदवार बनाउने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति लालकाजी गुरुङ, जिल्ला सचिव बिश्वप्रकाश प्रसाई, क्षेत्रीय सभापति गंगाधर पौडेल, नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष बिद्धान गुरुङ, नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय उपमहासचिव ललितकला गुरुङ, नेपाली कांग्रेसका महासमिति सदस्य मिना केसी, महाधिवेशन प्रतिनिधि सिता काफ्ले, पूर्व महासमिति सदस्य बलभद्र शर्मा, पूर्वजिविस उपसभापति राम शर्मा पौडेल, मोदीका कांग्रेस नेता ठक्करप्रसाद शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रमको सञ्चालन उत्तमप्रसाद अधिकारीले गरेका थिए । -इन्दिरा शर्मा




