Print

पर्वतमा एमालेबाट वडा अध्यक्षमा सर्वसहमत को-को सिफारिस भए ? (र्हेनुहोस नामावली सहित)

५ वैशाख, पर्वत । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा नेकपा एमालेले वडा तह देखि गाउँपालिका र नगरपालिकाको उमेदवार छान्ने प्रक्रिया द्रुत गतिमा अगाडि बढाईरहेको छ । वडाबाट वडा अध्यक्ष र बाँकी ४ जना सदस्य र गाउँ संगठन कमिटिबाट गाउँपालिका प्रमुख र उप प्रमुख, त्यसैगरी नगर संगठन कमिटिबाट नगर प्रमुख र नगर उप प्रमुखको टुंगो लगाउने गरी भेला, वैठकहरु भईरहेका छन ।

पर्वत न्यूज डटकमलाई प्राप्त जानकारी अनुसार हालसम्म जिल्लामा सवै वडा कमिटिहरुको वैठक बसि उमेदवारहरुको छनौट प्रक्रिया अगाडि बढेको छ । अधिकांश वडाहरुमा वडा अध्यक्षका आकाक्षीहरुको संख्या धेरै भएपनि केहि वडाहरुमा भने वडा अध्यक्ष सर्वसहमत छनौट भईसकेका छन ।

सर्वसहमत छनौट भएका वडाहरु मध्ये मोदी गाउँपालिकाको तिलाहारबाट बिमल लामिछाने र क्याङ वडाबाट मनबहादुर पुन, चित्रेबाट सुकबहादुर गुरुङ, भुकदेउरालीबाट कमल गुरुङ, राम्जादेउरालीबाट बसन्त गुरुङ सर्वसहमत छनौट भईसकेका छन ।

यसैगरी जलजला गाउँपालिकाको धाइरिङमा वेदनाथ आचार्य, नाङलीवाङबाट महेन्द्र रेग्मी, शालीजाबाट होमबहादुर पुन, लेकफाँटबाट तिलक जिसी, माझफाँट ४ बाट टेकबहादुर जिसी , माझफाँट २ बाट रामबहादुर विक, बाँसकर्खबाट तुलसी रेग्मी सर्वसहमत रुपमा चयन भईसकेको एमाले जिल्ला उपाध्यक्ष भक्त कुवंरले जानकारी दिए । उपाध्यक्ष कुँवरका अनुसार कुश्मा नगरपालिकाको चुवामा खिमलाल पोखेरेल, दुर्लुङबाट शोभाखर पाध्या र खौलाबाट जंगबहादुर क्षेत्री सर्वसहमत छनौट गरिएको छ ।

फलेवास नगरपालिकाको फलामखानीबाट भने रामु विकलाई सर्वसहमत छनौट गरिएको उपाध्यक्ष कुवंरले बताए ।
बाँकी वडाहरुमा कम्तिमा ६ देखि बढिमा १२ जनासम्मको उमेदवारी परेका कारण वडा कमिटिलाई उमेदवार छनौटमा समस्या परेको जिल्ला नेताहरु बताउँछन ।

वडा कमिटिले नगर कमिटिलाई बढिमा ३ जनाको नाम मात्र सिफारिस गर्न निर्देशन दिएपनि उमेदवारका आकाक्षीहरुको संख्या धेरै भएका कारण सर्वसहमत उमेदवार छनौट गर्न एमालेमा धौ धौ परेको छ । उता, नगर र गाउँ कमिटिका वैठकहरु भने वैशाखको अन्त्यसम्ममा वस्ने गरी तयारी भईरहेको एमाले जिल्ला अध्यक्ष पदम गिरीले जानकारी दिए ।

वडाको सिफारिसका आधारमा नगर र गाउँ कमिटिको वैठक बस्ने र उक्त वैठकले जिल्ला कमिटिमा अन्तिम उमेदवार छनौटका लागि सिफारिस गर्ने गरी तयारी भईरहेको अध्यक्ष गिरीले पर्वत न्यूज डटकमलाई बताए ।