४ वैशाख, पर्वत । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरि पर्वत जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले सामान्य अवस्थाको भन्दा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको बताएको छ । स्थानिय सुरक्षा समितिको आईतवार बसेको बैठकले सुरक्षा सवेदनशीलता अध्ययन गरी रणनीति बनाएको हो ।
स्थानिय तहको निर्वाचन अवधिभर सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मी बाहेक अन्य कुनै पनि व्यक्तिले विष्फोटक पदार्थ, रासयनिक तथा विषालु पदार्थ, लाठी, भाला, खुकुरी, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँडडुल गर्न, गराउन पूर्ण निषेध गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
यस्ता गतिविधी भएको पाइएमा हातहतियार अनुगमन ऐन बमोजिम कारवाही गरिने उहाँको भनाई छ । त्यस्तै मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा विक्रि वितरण कार्यमा समेत पूर्ण बन्देज गरिएको छ । यदि मदिरा विक्रि वितरण गरिएको पाईएमा स्थानिय प्रशासन ऐन तथा मदिरा नियन्त्रण ऐन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासनिका अनुसार निर्वाचनका बेला हुने अपराधिक घटना नियन्त्रण र घटना संलग्नको पहिचानका लागि सादा पोशाकका पनि प्रहरी परिचालन गरिएको छ ।
विशेष गरि जिल्ला दुई नगरपालिका र पाँच गाउँपालिकाका बजार क्षेत्रमा प्रहरी निगरानी बढाइएको र सम्भावित घटना हुनसक्ने क्षेत्रमा प्रहरीलाई २४ घण्टा नै निगरानीमा राखिएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न मतदान केन्द्र र मतदाताको सुरक्षा लगायतका विषयमा बारम्बार जिल्ला सुरक्षा समितिको बैठक बस्ने गरेको पर्वतका प्रजिअ मरासनीले जानकारी भयो ।– साजन परियार




