२९ चैत्र, पर्वत । स्थानीय निकायको चुनाव नजिकएको छ । अवको झण्डै एक महिनामा स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा राजनीति मै सक्रिय कतिपय नेताहरुको चर्चा भने सेलाएको छ । १९ बर्ष पछाडी हुन लागेको निर्वाचनमा २०५४ सालको हारहारीमा जन्मिएका र २०५४ सालको निर्वाचनमा चुनाव लडेका नेताहरु दुवै निर्वाचनका आकाक्षीको रुपमा भने देखिएका छन ।
जेष्ठ, पौढ र युवाहरुको चुनावी आकाक्षाका कारण कतिपय ठाउँमा मुख्य गरी नेपाली कांग्रेस र एमालेले उमेदवार छान्न धौ धौ परीरहेको छ । नयाँ पुस्ताका अनुहारहरु चर्चा आइरहदा पुराना पुस्ताका कतिपय अनुहार भने चर्चामा छैनन । नयाँ पुस्ताले सामाजिक सञ्जालको प्रयोग र अनलाईनहरुको सदुपयोग गरी आफ्नो नामलाई चर्चामा ल्याइरहँदा पार्टी भित्र निकै लामो समय योगदान गरेका अनुभवी र त्यागी नेताहरुको भने पार्टी भित्र चर्चा हराउन थालेको छ ।
नेकपा एमालेमा नयाँ पुस्ताका नेताहरुको उदयसंगै केहि नेताहरु भने ओझेलमा पर्न थालेका छन । एमालेमा लामो समय देखि सक्रिय रहेर माओवादी युद्धकालमा पनि पार्टी धानेर बसेका मोती पौडेलको चर्चा कम छ । फलेवास नगरपालिकामा सर्वसहमत उमेदवार भएमा उमेदवार बन्ने भित्री दौडमा रहेका पौडेलको चर्चा भन्दा फलेवास नगरपालिकामा अरु नेताहरुको चर्चा धेरै सुनिन्छ । संसदीय चुनावमा समेत उमेदवार बनेका उनको चर्चा युवापुस्ताले गर्न छाडेको देखिन्छ ।
उता, जेष्ठ कम्युनिष्ट मञ्चमा सक्रिय कुश्माका पुराना कम्युनिष्ट नेता तोयनाथ चालिसेको चर्चा पनि कम छ । साविकको शिवालय गाविसको उपाध्यक्ष पदमा २०५४ सालमा जननिर्वाचित बनेका उनले पनि नगरपालिका प्रमुखमा सर्वसहमतको मन गरे पनि कहि कतै उनको चर्चा सुनिँदैन ।
जिल्ला विकास समितिको उप सभापति समेत भईसकेका एमाले नेता टिकाराम भुषाल महाशिला गाउँपालिकाका हुन । उप सभापति पछि सामाजिक संस्था मार्फत राजनीतिमा रहेका उनको पनि चर्चा छैन । राजनीतिसंगै कृषि क्रान्तिको क्षेत्रमा लागेका उनी पनि चर्चामा नआएका नेतामा पर्दछन ।
कुश्मा नगरपालिकाको आर्थरका पुराना नेता याम गुरुङ अहिले कुश्मा नगरपालिकाका इन्चार्ज भएका छन । जिल्ला कमिटिमा निरन्तर सक्रिय उनको पनि चर्चा छैन । नगरपालिका प्रमुखहरुमा अरु नेताहरुको चर्चा देखिएपनि उनी ओझेलमा परेका छन ।
शिक्षण पेशा छाडेर राजनीतिमा लागेकी बिहादी गाउँपालिका बाच्छाकी डम्मर कुमारी गुरुङको पनि ओझेलिएकी छिन । पुराना कम्युनिष्ट नेताहरुको सुचिमा पर्ने उनको पनि स्थानीय तहको उमेदवारमा चर्चा सुनिदैन ।
युवा पुस्ताको चर्चा चुलिरहँदा पुराना नेताहरुको चर्चा हराउदै गएको पाइएको हो । राजनीतिमा नै सक्रिय रहेर पनि कम चर्चामा आएका नेताहरुलाई पार्टीले भने उचित जिम्मेवारी दिनुपर्ने देखिन्छ ।





प्रतिकृया दिनुहोस्