Print

६ महिना भित्र पर्वतमा २० मेघावाट विद्युत थपिदै, तल्लो मोदीको ९० प्रतिशत निर्माण कार्य पुरा

१५ चैत्र, पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१२ मा निर्माणाधिन २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत आयोजनाको निर्माणकार्य ९० प्रतिशत पुरा भएको छ ।

२०६९ साउनदेखि निर्माण कार्य सुरु भएको आयोजनाको समग्रमा हालसम्म ९० प्रतिशत निर्माणकार्य पुरा भएको आयोजना प्रमुख पवनकुमार यादबले जानकारी दिए ।

उनका अनुसार विगतको नाकावन्दी र भुकम्पका कारण निर्माण कार्य ढिलो भएको हो । आयोजनाको ०७३ असोजभित्र बिद्युत उत्पादन सुरु गर्ने योजना रहेको भएपनि नाकावन्दी र भुकम्पका कारण २०७४ असार भित्र सम्पन्न गर्नेगरी काम भैरहेको आयोजना प्रमुख यादबले जानकारी दिए ।

उनका अनुसार चार हजार २७ मिटर सुरुङ सकिएको छ । सुरुङ भित्र कंक्रेटिङको कार्य भईरहेको यादबले बताए ।
आयोजनाको इन्टेक र हेडवक्सको काम पनि सकिएको छ । टेलरेस, वयरको काम बिद्युतगृह निर्माणको काम पनि तिब्र पारिएको उनले जानकारी दिए । पावर हाउसको काम झण्डै ७० प्रतिशत पुरा भएको उनले बताए ।

निर्माण कार्य तिव्र भएका कारण आगामी ६ महिना भित्रमा निर्माणका सवै कार्य पुरा गर्ने गरी कार्य भईरहेको यादवले जानकारी दिए ।

०७२ असोजमै निर्माण पुरा हुने भनिएपनि बैंकको लगानी सम्झौतामा भएको ढिलाईले आयोजना निर्माण एकवर्ष घर्केको थियो । तीन अर्ब ५७ करोड लागत अनुमान गरिएको आयोजना २०६८ भदौमा नेपाल बिद्युत प्राधिकरणसंग बिद्युत खरिद सम्झौता गरी २०६९ साउनदेखि निर्माण कार्य सुरु भएको थियो ।

पर्वतको कुस्मा नगरपालिकामा पर्ने चुवा र दुर्लुङ्ग तथा तिलाहार, बाजुङ तथा देउपुर क्षेत्रमा उक्त आयोजना निर्माणधिन अवस्थामा छ ।

आयोजनामा नेपाल इन्भेष्टमेण्ट बैंकको नेतृत्वमा सनराइज, ग्रान्ड, सिद्धार्थ, नेपाल क्रेडिट एन्ड कमर्स, कमर्ज एन्ड ट्रस्ट, मेगा र ग्लोबल आईएमई बैंक, एचएन्डबी, कैलाश र एनआइडीसी डेभलपमेन्टले लगानी गरेका छन् । कुल लागतमध्ये मनाङ ट्रेड लिंकको २५ र बैंकहरुको ७५ प्रतिशत लगानीमा आयोजना बन्न लागेको हो ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस