१३ चैत्र, पर्वत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पर्वतमा १६ दल वीच प्रतिस्पर्धा हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका १६ दलहरु वीच आगामी निर्वाचनमा प्रतिस्पर्धा हुने देखिएको हो ।
जिल्लामा १६ दल दर्ता भएपनि मतदाताहरुको संख्याको हिसाबमा भने कांग्रेस, एमाले, माओवादी र राप्रपा बाहेकका दलहरुले उमेदवार पाउन हम्मे हम्मे पर्ने देखिएको छ । अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य नरबहादुर कार्की नेकपा एमालेमा प्रवेश गरेसंगै अखण्ड पार्टीको अस्तित्व झण्डै पर्वतमा सकिएको छ ।
अरु केहि दलहरुले दल दर्ता गरे पनि उनीहरुको जिल्ला स्तरीय संगठन कमिटि नै देखिदैन । सवै ठाउँमा कांग्रेस र एमालेका उमेदवार चुनावी मैदानमा उत्रने देखिए पनि अरु बाँकी दलहरुले सवै ठाउँमा उमेदवार मुस्किल पर्ने देखिन्छ । उमेदवार तय गर्दा समावेशी उमेदवार हुनुपर्ने प्रावधान भएका कारण पनि माओवादी र राप्रपामा समेत उमेदवारको समस्या पर्ने देखिन्छ ।
वडा तहमा ५ जना मध्ये दलित र महिला सहितको प्रतिनिधित्व हुनुपर्ने प्रावधानले ठूला दलहरु बाहेकका दललाई उमेदवार तय गर्न समस्या देखिएको हो । माओवादी देशको पहिलो शक्ति समेत भईसकेको भएपनि विभाजनको चरम संघारमा परेको उक्त दलले सवै ठाउँमा आफ्ना उमेदवार उठाउने तयारी गरेको भएपनि पार्टी एकताबाट ठूलो शक्ति बनेको राप्रपाका स्थानीय संगठन कमिटिहरु नभएको ठाउँमा उमेदवार उठाउने विषयमा समस्या देखिएको छ ।
नयाँ शक्ति पार्टीले उमेदवार उठाउने विषयमा आन्तरीक तयारी गरीरहेको छ । बाँकी दलहरुका संगठन कमिटिहरु तल्लो तहसम्म नभएका कारण उनीहरुका उमेदवार कुन कुन ठाउँमा को को हुन्छन भन्ने विषय आम चासोको विषय समेत बनेको छ । कांग्रेस, एमाले र माओवादीका केहि नेता तथा कार्यकर्ताहरुले स्थानीय तहको निर्वाचनमा आफनो उमेदवारी सामाजिक सञ्जाल मार्फत सार्वजनिक भने गरीरहेका छन । बाँकी दलहरुले आन्तरीक तयारी गरी आफ्नो संगठनको उपस्थिती रहेको ठाउँमा उमेदवार घोषणा गर्ने तयारी गरीरहेको बताइएको छ ।





प्रतिकृया दिनुहोस्