Print

चुनाव गर्न नसके सरकार असफल

७ चैत्र, पर्वत । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिनाले वैशाख ३१गते स्थानिय तहको चुनाव गर्न नसके प्रचण्ड नेतृत्वको सरकार असफल हुने बताउनुभएको छ ।

नेकपा एमाले पर्वतले संचालन गरेको तीन महिने जनपरिचालन अभियान अन्तर्गत महाशिला गाउँपालिकाको अभियान समापनको अवसरमा बोल्दै तिमिल्सिनाले झण्डै दुई दशकपछि हुन लागेको स्थानिय तहको चुनावको सवैजसो तयारी भैरहँदा सरकार भाग्न नहुने बताउनुभयो । उहाँले जुनसुकै हालतमा वैशाख ३१मै चुनाव हुनुपर्ने बताउँदै सरकार यसवाट पछि हट्न नहुनेमा जोड दिनुभएको छ । तिमिल्सिनाले संविधान कार्यान्वयनका लागि पनि तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

उहाँले आमनेपाली जनता निर्वाचनको पक्षमा भएकाले कसैले निर्वाचनको विरोध गरेपनि जनताले नै ठेगान लगाइदिने बताउनुभयो । उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चुनावमा हारिने डरले विरोध गरिरहेको आरोप लगाउँदै जनमत छ भनी दावा गर्ने पार्टीले निर्वाचनबाट डराउनु हँुदैन भन्नुभयो । उहाँले एमालेले संचालन गरेको मेची–महाकाली अभियानका कारण पनि सरकार एमालेको बहुमत आउने डरले चुनाव गराउनका लागि धर्मराएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष पदम गिरी, नेकपा एमाले प्रदेश नं. ४ का लेखा आयोग सदस्य देवेन्द्रराज पाण्डे, नेकपा एमाले पर्वतका सचिब पदम गिरी, प्रदेश स्थानिय विभाग उपसंयोजक टिकाराम भुसाल, किसान संगठनका रुद्रबहादुर क्षेत्री, एमाले पूर्व उपाध्यक्ष राजु पौडेल, जिल्ल सदस्य विष्णुराम विक, युवा संघका अध्यक्ष विमल लामिछाने, एमाले कास्कीका सदस्य नारायण बास्तोला, पुष्पराज पौडेल लगायतले बोलेका थिए ।

अभियान अन्तर्गत उक्त कलस्टरमा विभिन्न ३७ वटा गतिविधि भएको संयोजक जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो ।
महाशिला कलष्टर संयोजक जीवन उच्चै ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत क्षेत्रीय अध्यक्ष भक्तराज सुवेदी र संचालन इश्वरीप्रसाद भुसालले गर्नुभएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । –लक्ष्मण सापकोटा

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस