Print

पर्वतमा गाउँपालिका र नगरपालिकाका कुन–कुन केन्द्र अपायक छन ?

३० फागुन, पर्वत । स्थानीय राजनैतिक दल सहितका सहमतिमा निक्यौल गरे भन्दा बेग्लै स्थानमा पुर्नसंरचना आयोगले पर्वतका केन्द्रहरु तोकि दिएको छ ।

पुर्नसंरचनाका विषयमा महिनौ लामो बहस पछि राजनैतिक दलहरुले गरेको सहमति भन्दा ठिक विपतरी र स्थानीय स्तरका जनताको माग भन्दा पनि बेग्लै ढङगले केन्द्रहरु तोकिएकोमा पर्वतबासी आक्रोसित बनेका छन । भौगोलिक सुगमता र पायक पर्ने ढङगले स्थानीय स्तरमा ५ गाउँपालिका र २ वटा नगरपालिकाको केन्द्र निर्धारण गर्ने सहमती भएको थियो । उता, आयोगले सिफारिस गरेको र सरकारले घोषणा गरेको पुर्नंसंरचनामा त्यसको ठिक विपरीत केन्द्रहरु तोकिएको छ ।

कुन कुन केन्द्र अपायक छन
जलजला गाउँपालिकामा स्थानीय स्तरमा मिलन चोकलाई केन्द्र बनाउने पर्ने माग थियो । उता, जिल्ला स्तरमा भएको सर्वदलीय सहमती बमोजीम मिलन चोक वा वारीवेनीलाई केन्द्र बनाउने गरी प्रस्ताव गरिएको थियो । आयोगको सिफारिसमा भने साविकको माझफाँट गाविसको कार्यालय रहेको स्थानलाई केन्द्र बनाउने गरी निर्णय भएको छ । सुगमता र पायकको हिसाबले माझफाँट र बाँसखर्क गाविसलाई मात्र उक्त स्थान पायक पर्ने देखिन्छ । नाङलीवाङ, धाइरिङ, बनौ र शालीजाका बासिन्दालाई मिलनचोक पुगेपछि मात्र माझफाँटको उक्त केन्द्रमा जानुपर्ने भएका कारण केन्द्र अपायक भएको स्थानीयबासीहरु गुनासो गरेका छन ।
यसैगरी मोदीगाउँपालिकाको केन्द्र पनि देउपुरको पातिचौर र तिलाहारको डिमुवा बनाउने गरी सहमती भई प्रस्ताव गरिएको थियो । आयोगको सिफारिसमा भने सरकारले देउपुर गाविसको कार्यालयलाई केन्द्र बनाउने गरी निर्णय गरेको छ । राम्जादेउराली, चित्रे, बाजुङ, भुक र तिलाहार गाविसका लागि उक्त केन्द्र निकै अपायक देखिन्छ । देउपुर गाविसको कार्यालय जान पातिचौर बजारबाट पैदल घण्टौं लाग्छ । उक्त क्षेत्रको सुगमताको हिसाबले डिमुवा वा पातिचौर बजार क्षेत्र छ, तर सरकारले हालका लागि अर्कै ठाउँमा केन्द्र तोकिदिएको छ ।
उता, दक्षिणी क्षेत्रमा रहेको महाशिला गाउँपालिकाको केन्द्र साविकको लुंखुमा बनाउने गरी प्रस्ताव गरिएको थियो । तर, आयोगले बालाकोट गाविसलाई तोकेको छ । बालाकोट गाविस फलामखानी, पाखापानी र लुंखु गाविसकै लागि अपायक पर्छ । बजार देखि पोखरा जानका लागि समेत होस्याङ, भोक्सिङ र बालाकोटका बासिन्दा लुंखु हुदैको बाटो जाने र लुंखु बजार क्षेत्रको रुपमा विकसित हुँदै गरेका कारण उक्त स्थानमा केन्द्र बनाउनुपर्ने स्थानीयले माग गरेका थिए ।
यसैगरी बिहादी गाउँपालिकाको केन्द्र रानीपानी वा बर्राचौर क्षेत्रमा हुने गरी प्रस्ताव गरिएको थियो । उता, आयोगको सिफारिसमा साविकको बहाकीठाँटी गाविसको कार्यालयलाई केन्द्र मानिएको छ । भौगोलिक सु्गमता र विकास निर्माणका सुचकका आधारमा समेत स्थानीयले बिहादी क्षेत्रमा रानीपानी वा बर्राचौर बनाउने निर्णय त्यहाँ पनि कार्यान्वयन भएको छैन ।

पुर्नसंरचना हुँदा कुश्मा नगरपालिकाको केन्द्र हालको नगरपालिकाको कार्यालय रहेको क्षेत्रलाई बनाइएको छ । आर्थर गाविसको माथिल्लो क्षेत्र र खौलाका केहि वडाहरुलाई बाहेकका बजार क्षेत्रको हिसावले यस क्षेत्रलाई अपायक मानिएको छैन । अर्को तर्फ, कुश्मा नगरपालिकाको केन्द्र कुश्माबजारलाई बनाउने गरी सहमती पनि भएको थियो ।

उता, पैयु गाउँपालिकाको केन्द्र भने पुर्व सहमती बमोजीम हुवास गाविसरहेको क्षेत्रलाई बनाउने निर्णय भएको छ । उक्त स्थान सवै क्षेत्रको पायक पर्ने क्षेत्रको रुपमा समेत चिनिन्छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस