Print

५ लाखको लगानीमा कुर्घामा ब्यवसायीक बाख्रापालन

१६ फागुन, पर्वत । पर्वतको दक्षिणी गाविस कुर्घाका युवाहरु ब्यवसायीक बाख्रापालनमा जुटेका छन । जिल्लामा मासुको खपत बढिरहेको बेला कुर्घाका ६ जना युवाहरु साझेदारी बाख्र्रापालनमा जुटेका हुन ।

२५ माउ बाख्राबाट शुरु गरीएको उक्त फर्मलाई आगामी केहि महिना भित्र १ सय माउ बाख्रा पुराउने उनीहरुको लक्ष्य छ । नीजि लगानीमा शुरु गरिएको उक्त ब्यवसायीक फर्ममा हालसम्म कुनै निकायले सहयोग नगरेको फर्म सञ्चालक सदस्य डिल्ली चापागाईले बताए । झण्डै ५ लाख रुपैयाको लागतमा शुरु गरिएको फर्म हाल माउ सहित ४० वटा बाख्रा रहेका छन ।

सुधारिएको खोर, ब्यवस्थित आहारा र दाना सहितको ब्यवस्थापन मिलाएर आफूहरुले ब्यवसायीक फर्मको शुरुवात गरिएको उनीहरु बताउँछन । ‘उन्नत घाँस लगाउने गरी जग्गाको समेत तयारी भइरहेको छ’ सञ्चालक सदस्य चापागाईले भने–‘विदेशको खाडी भन्दा नेपालको झाडी हामीले रोज्यौ ।’ अर्काको देशमा गर्ने श्रम आफनै देशमा गर्ने सोच बनाएपछि राज्यले भने कुनै सहयोग नगरेकोमा चापागाईले दुःख ब्यक्त गरे ।

स्थानीय खरी जातका बाख्रालाई जमुनापारीसंग क्रस गराएर उत्पादन भएका बाख्राहरु फर्ममा रहेका छन । उन्नत बाख्रापालनबाट आम्दानी बढि लिन सकिने भएकाले उन्नत बाख्राहरुको खोजीमा आफूहरु लागेको उनीहरु बताउँछन । ३० रोपनी क्षेत्रफलको जग्गामा घाँस खेती गर्ने उनीहरुले तयारी गरीरहेका छन ।
कुर्घा गाविसका डिल्ली चापागाई, कालीदास चापागाई, दुर्गाबहादुर पौडेल, नेत्रप्रसाद चापागाई, शान्ती चापागाई र सुमन चापागाईले फर्ममा संयुक्त लगानी गरेका छन । साझेदारी ब्यवसाय अन्तर्गत कुखुरापालन, माछापालन र तरकारी खेती पनि गर्ने उनीहरुको योजना रहेको छ । दिनहुँ करोडौ रकम कृषिजन्य वस्तु खरिदमा नेपालको धन भारत गइरहेको बताउदै आफुहरुको प्रयासमा राष्ट्रलाई पनि सानो सहयोग मिल्ने सञ्चालक सदस्य दुर्गा पौडेल बताउँछन ।

सरकारी क्षेत्रबाट प्राविधिक सहयोग उपलब्ध भएमा फर्म सञ्चालनमा थप सहयोग पुग्ने बताउदै पौडेलले आर्थिक अवस्था कमजोर भएका सदस्यहरुबाट शुरु गरिएको फर्मको बजार ब्यवस्थापनमा समेत सरकारी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस